काठमाडौँ । स्वास्थ्य मन्त्रालयले देशका २२ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिइरहेको जनाउँदै सचेत रहन आग्रह गरेको छ ।
मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोकलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ ।
कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा सङ्क्रमणदर डरलाग्दो गरी फैलिरहेकाले सचेत रहन सहप्रवक्ता समीर कुमार अधिकारीले सीआइएनमार्फत आग्रह गर्नुभयो ।
सरकारले एम्बुलेन्स चालकलाई भेदभाव नगरी कोरोना सङ्क्रमितलाई अस्पतालसम्म लैजान निर्देशन दिएको पनि सहप्रवक्ता अधिकारीले बताउनुभयो ।
मन्त्रालयले हिजो विज्ञप्ति निकालेर स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण बढेकाले अस्पताल शैया उपलब्ध गराउन नसकिने भइसकेको जनाएको छ ।
यसैबीच नेपालमा थप ५ हजार ७ सय २७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
२४ घण्टामा १५ हजार ३ सय ९१ पीसीआर परीक्षणमा ५ हजार ६ सय ५७ जना र ५ सय २५ एन्टिजेन परीक्षणमा ७० जना गरी ५ हजार ७ सय २७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हिजो कोरोना भाइरस सङ्क्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको संख्या ९ सय २८ रहेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८, ०९:५३