काठमाडौँ । मुगुको छायाँनाथरारा नगरपालिका १० भच्चलेकका कृष्णबहादुर सेजुवालले ६ सयभन्दा बढी स्याउका बोट लगाउनुभएको छ ।
५ सय बोटले फल पनि दिइरहेका छन् । अघिल्लो वर्ष भने फूल लागेपछि असिनाले झारिदियो तर बीमा गरेका कारण उहाँले १ लाख ३५ हजार रुपैयाँ पाउनुभयो ।
अघिल्लो वर्ष फूल लागेपछि असिनाले झारिदिएका कारण प्रति बोट २ सय ७० रुपैयाँका दरले क्षतिपुर्ति पाएको उहाँको भनाइ छ ।
‘मैंले १५ हजार वर्गमिटरमा स्याउका ६ सय बोट लगाएको भए पनि फल दिने ५ सय बोटको मात्रै बीमा गराएको थिएँ ।’ उहाँले भन्नुभयो, ‘असिनाले फल लाग्ने बेलामा झारेकोले हामी निराश थियौँ । शिखर इन्स्योरेन्सले फल बिक्रीगर्दा आउनेजति नभए पनि त्यत्ति बराबरको रकम क्षतिपूर्ति दिएपछि हामी नोक्सान हुनबाट बच्यौँ ।’
बीमा नगरेको भए स्याउको बोटको काँटछाँट, मलखाद व्यवस्थापन, सिँचाइ लगायतमा रकमसमेत नोक्सान हुने तर क्षतिपूर्तिबाट राहत मिलेको उहाँको भनाइ छ । कृष्णबहादुरसँगै मुगुका ३ सय १७ किसानले स्याउको बोटको बीमा गरे बापत १९ हजार ४ सय ९५ बोटको ५२ लाख ६९ हजार रुपैयाँ पाएका छन् ।
बीमा गरेपछि क्षतिपूर्ति पाउने र ठूलो घाटा नहुने भएपछि रावतले वडाका अरु किसानलाई पनि बीमा गर्न सहजीकरण गरिरहनु भएको छ । हरेक किसानले एक वर्षको मौसमी (खडेरी र असिना) बीमाको लागि प्रतिबोट ४२ रुपैयाँका दरले प्रिमियम तिर्नुपर्छ ।
४९ हजार ५३ बोटको बीमा गरेका जुम्लाका ७ सय ३९ किसानले एक करोड ३२ लाख भन्दा बढी रकम पाएका छन् । ४ सय बोटको बीमा गरेको र प्रतिबोट २ सय ७० का दरले क्षतिपुर्ति पाउँदा खुसी लागेको हिरा जडिवुटी तथा फलफूल नर्सरीका सञ्चालकसमेत रहनु भएका दीप दर्शन फडेरा बताउनुहुन्छ ।
‘असिनाका कारण स्याउको उत्पादनमा ६० प्रतिशत क्षति पुगेको आधारमा हामीले बीमा कम्पनीमा दावी गरेका थियौँ ।’ उहाँले भन्नुभयो, ‘हामीले एक लाख ८ हजार रुपैयाँ पाएका छौँ । स्याउको स्याहारमा वर्षभरी गरेको मेहनत एकैछिनको असिनाले झारिदिने भएकाले बीमा गरेर जोखिम हस्तान्तरण गरेका हौँ ।’
नफल्नेसमेत गरी ६ सयभन्दा बढी बोट र नर्सरीमा बिरुवा हुर्काइरहनु भएका फडेराले यस वर्ष भने ५ सय बोटको बीमा गर्नुभएको छ ।
अघिल्लो वर्ष कालिकोटमा स्याउको बीमा गराउने किसानको सङ्ख्या ३ सय २२ थियो । सबैको गरी २० हजार ५६ बोटको बीमा वापत ५४ लाख भन्दा बढी रकम प्राप्त भयो ।
तिलागुफा नगरपालिका वडा नम्बर ३ का रत्नबहादुर रावतले जम्मा ४ सयमध्ये २ सय बोटको बीमा गर्नुभएको थियो । बीमा कम्पनीबाट पाएको रकमले घरखर्च चलाउन र यस वर्ष स्याउको स्याहार गर्न उहाँलाई सजिलो भएको छ ।
‘मेरो ५ सय बोटसहितको स्याउ बगैँचा छ । राम्रो फलेको वर्षमा २ सय बोटबाटै २ लाख भन्दा बढी आम्दानी हुन्थ्यो ।’ वडा सदस्यसमेत रहनुभएका रावत भन्नुहुन्छ, ‘अघिल्लो वर्ष असिनाका कारण एउटा दाना पनि स्याउ टिप्न पाइएन । बीमा बापतको ५४ हजार रुपैयाँले पनि ठूलो राहत मिलेको छ ।’
जीवन बीमा वा करोडौँ लगानी भएका व्यवसायको मात्रै बीमा गर्ने परम्परा समाजमा देखिन्छ । तर असिना र सुख्खा खडेरीले क्षति पुर्याएको तथा स्याउ उत्पादन नभएर घाटा व्यहोरेका कालिकोट, जुम्ला र मुगुका किसानलाई बीमा रकमले राहत दिएको छ ।
बीमा गरेपछि क्षतिपूर्ति पाउने र ठूलो घाटा नहुने भएपछि रावतले वडाका अरु किसानलाई पनि बीमा गर्न सहजीकरण गरिरहनु भएको छ । हरेक किसानले एक वर्षको मौसमी (खडेरी र असिना) बीमाको लागि प्रतिबोट ४२ रुपैयाँका दरले प्रिमियम तिर्नुपर्छ ।
गत वर्षको क्षतिपूर्तिका आधारमा यस वर्ष जुम्लामा मात्रै एक लाख भन्दाबढी बोटको बीमा भएको शिखर इन्स्योरेन्स लिमिटेडका कर्णाली इन्चार्ज ऋषिराम पाण्डे बताउनुहुन्छ ।
‘खडेरी र असिनाका लागि बीमा गर्ने गरिएकोमा अहिलेसम्म खडेरी परेको थिएन । यस वर्ष अहिलेसम्म पानी नपरेका कारण पनि स्याउको उत्पादन घटाउँछ होला ।’ उहाँले भन्नुभयो, ‘यस वर्ष क्षतिपुर्ति बापत जुम्लामा एक करोड ३३ लाख उपलब्ध गरायौँ । मुगु र कालिकोट गरी २ करोड ५५ लाख वितरण भयो ।’
यस वर्ष धेरै किसान उत्साहित भएर स्याउको बीमा गरेका छन् । ‘जुम्लामा मात्रै एक हजार एक सयभन्दा बढी किसानले एक लाखभन्दा बढी स्याउको बोटको बीमा गरिसकेका छन् ।
कालिकोटका ४ सय ९० जना किसानले ५३ हजार र मुगुमा ३ सय ९ जना किसानले २१ हजार ४ सयभन्दा बढी बोटको बीमा गर्नुभएको छ’ पाण्डेले भन्नुभयो । यस वर्ष तीन जिल्लाका एक लाख ७७ हजार स्याउको बीमा गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा दोब्बर हो ।
जीवन बीमा वा करोडौँ लगानी भएका व्यवसायको मात्रै बीमा गर्ने परम्परा समाजमा देखिन्छ । तर असिना र सुख्खा खडेरीले क्षति पुर्याएको तथा स्याउ उत्पादन नभएर घाटा व्यहोरेका कालिकोट, जुम्ला र मुगुका किसानलाई बीमा रकमले राहत दिएको छ ।
अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८, १०:१५