काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्य मन्त्रीबाट राजीनामा दिएर एमाले ससदीय दलका नेता शङ्कर पोखरेल फेरि मुख्य मन्त्रीमा नियुक्त हुन दौडधुप र छलफलमा जुट्नुभएको छ ।
आज बिहान प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउनुभएका पोखरेलले पार्टीको लुम्बिनी प्रदेश संसदीय दलको बैठकमा आफू नै अबको सरकारको नेतृत्वमा पुग्ने जानकारी सांसदहरुलाई गराउनुभएको छ।
बैठकमा सहभागी एक सांसदका अनुसार पोखरेलले संविधानको धारा १ सय ६८ को १ बमोजिम सरकार गठनमा मार्गप्रशस्त गर्न आफूले राजीनामा बुझाएको बताउनुभएको छ ।
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका दुई र जसपाबाट मन्त्री बनेका चार सांसद कारबाहीमा परेपछि प्रदेशसभा अहिले ८१ सदस्यीय छ ।
यही वैशाख ६ मा पोखरेलविरुद्ध कांग्रेस–माओवादीसहितका दलले अविश्वास प्रस्ताव ल्याएका थिए र त्यसबारेमा आजबाट छलफलको कार्यसूची थियो। मुख्यमन्त्री पोखरेललाई विश्वासको मत पुर्याउन ४१ सांसद आवश्यक पर्छन् । एमालेको कुल सांसद संख्या पनि ४१ नै हो ।
बहुमतको सरकार बनाउन आवश्यक पर्ने ४१ सांसद पार्टीमा रहेका कारण अब समर्थन, फ्लोरक्रसको कुनै विकल्प नरहेको एमाले नेता दधिराम न्यौपानेले सीआईएनसँग बताउनुभयो । उहाँका अनुसार एकलौटी सरकार बनाउने निर्णय संसदीय दलको बैठकबाट भएको छ ।
एमालेको एकल बहुमत प्रदेशमा नरहेको दावी
बहुमत सिद्ध पार्टीले सरकार बनाउने व्यवस्था अनुसार प्रदेश प्रमुखले बोलाएर सपथ गराउनुपर्ने बुझाइ एमाले पक्षको छ । मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याएका दलहरुले भने एमालेको एकल बहुमत प्रदेशमा नरहेको दावी गरेका छन् ।
प्रदेश सभाका उपसभामुख बन्नुभएका कृष्णिकुमारी थारुलाई गणना गर्दा एमालेका ४१ सांसद पुग्ने भए पनि एमालेबाट उहाँले राजीनामा दिइसकेक कारण बहुमत नपुग्ने माओवादी केन्द्रका एक नेताले सीआईएनसँग बताए ।
'मतदान गर्ने अवस्थामा मत दिन उपसभामुख थारुले पाउनुहुन्छ । तर अरु अवस्थामा उहाँ एमालेको सांसदको रुपमा गणना गर्न मिल्दैन।' ती नेताले भने ।
पोखरेल फेरि मुख्य मन्त्रीको रुपमा नियुक्त हुने वा नहुने प्रदेश प्रमुखको अबको भूमिका निर्भर रहनेछ । प्रदेश प्रमुख धर्मनाथ यादवले नियुक्त गरेको अवस्थामा पोखरेललाई सहज हुने भए पनि रोक्नसक्ने विकल्प पनि खुला रहेको अविश्वासको प्रस्ताव दर्ता गराएका दलहरुको बुझाइ छ ।
प्रदेश प्रमुख यादवले भने पोखरेलले मुख्य मन्त्रीबाट दिएको राजीनामा स्वीकृत गर्नुभएको छ ।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवि पौडेलले आज एक विज्ञप्ति निकालेर राजीनामा स्वीकृत भएको र अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई नै मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न प्रदेश प्रमुखले तोक्नुभएको उल्लेख छ ।
मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि त्यसबारेमा छलफलका लागि प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बोलाइएको थियो । बैठक मुख्य मन्त्रीको राजीनामा स्वीकृत भएको प्रदेश प्रमुखबाट आएको पत्र पढेर स्थगित गर्ने तयारी प्रदेशसभा सचिवालयको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८, १०:३८