काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो नियुक्ति वैधानिक रहेको दावी गर्नुभएको छ ।
आज सामाजिक सञ्जाल फेसवुकमा विचार राख्दै उहाँले प्रदेशमा नेकपा (एमाले) प्रदेश सभा दल वहुमत प्राप्त दलको अवस्थामा रहेका वखत मुख्यमन्त्रीमा दावी गरिएको र दलको बैठकले सर्वसम्मत मुख्यमन्त्रीमा दावी गर्ने निर्णय गरेको उल्लेख गर्नुभएको छ ।
नियुक्ति पनि त्यसै आधारमा भएको जानकारी गराउँदै नियुक्ति पछिको विवादको निरुपण प्रकृयाबाटै हुने उहाँको भनाइ छ । सांसद विमला कुमारी खत्री फागुन २३ को सर्वोच्चको फैसलापछि एमालेको प्रदेशसभा दलमा सहभागी हुँदै आएको दावी मुख्यमन्त्री पोखरेलको छ ।
अहिले आएर माओवादी केन्द्र रोजेको प्रचार गर्नु कानुन विपरित भएको र यस प्रक्रियामा प्रदेशसभा सचिवालयको जालसाजीपूर्ण सहभागिता रहेको आरोप पोखरेलले लगाउनुभएको छ ।
राजीनामा दिएका र अरु पार्टीलाई समर्थन गरेका भनिएका सांसदहरूसमेत दलको वैठकमा उपस्थित रहेर सरकारमा दावी गर्ने निर्णयमा सहमती जनाएको उहाँले उल्लेख गर्नुभएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८, १०:२१