काठमाडौँ । सोमबार दिउँसो देवचुलीका एक कोरोना सङ्क्रमित पुरुषलाई अस्पताल लान एम्बुलेन्स नपाएपछि ट्याक्टरमा राखेर लैजाँदै गर्दा उनको बाटो मै मृत्यु भयो ।
जुन खबर सुन्दा, पढ्दा र हेर्दा सबैका आँखा रसाए । मलाई थाहा छैन प्रधानमन्त्रीज्यू तपाईँका कानसम्म यो खबर पुग्यो कि पुगेन ? यदि तपाईँको कानमा यो खबर पुग्यो भने अब भन्नुस् देशमा कोरोनाले कति भयावह रूप लिँदै छ । सामान्य नागरिकको अवस्था कस्तो हुँदै छ ?
प्रधानमन्त्रीज्यू तपाईँले भाषण ठोक्नुहुन्छ र भन्नुहुन्छ, ‘कोरोना भनेको केही होइन हाछिउँ गर्ने, भगाउने ।
तपाईँ जस्तो अविभावकीय पदमा बसेको व्यक्तिले कहिले बेसार पानी खाएर त कहिले बेलाउतीको पात पकाएर खाए कोरोना निको हुन्छ भनेर ज्ञान बाँड्नुहुन्छ । प्रधानमन्त्रीज्यू तपाईँको बेसार पानी र बेलाउतीको पातले काम गर्ने भए देशमा कोरोनाले यति भयावह स्थिति सिर्जना गर्ने थियो र ?
समाचारहरूमा जताततै दुखका खबरहरू आउन थालेका छन् । सामाजिक सञ्जालतिर चिनेजानेका आफन्त कोरोना सङ्क्रमित भएका खबर सुनिरहन्छु ।
सङ्क्रमित भएको केही दिनमै मृत्यु भएका खबर पनि उतिकै सुन्दैछु । यसपटक कोरोना सङ्क्रमित हुनेहरूको खबर भटाभट आइरहँदा लाग्छ म पनि कति दिन अछुतो रहन सकुँला र ?
पहिलो पटक चिनबाट सुरु भएको नोबेल कोरोना भाइरसको सङ्क्रमणले विश्वलाई नै आक्रान्त पार्यो । २०१९ बाट सुरु भएको कोरोना भाइरसले लाखौँको ज्यान लियो । त्यसबाट नेपाल पनि आक्रान्त बन्न पुग्यो ।
पहिलो पटकको कोरोना भाइरसलाई जित्न सफल भयौँ भनेर खुशी भएका हामीमाझ फेरि नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण देखिन थाल्यो ।
यसपटकको सङ्क्रमण पहिले भन्दा तीव्र गतिमा फैलिरहेको छ । भारतका समाचार हेर्दा र पढ्दा रसाएका हाम्रा आँखा अब आफ्नै मुलुकको समाचार पढ्दा रसाउने भए ।
भारतमा दैनिक ४ लाखभन्दा बढी सङ्क्रमित थपिँदै गएका छन् भने नेपालमा दैनिक ७ हजार भन्दा बढी कोभिडबाट सङ्क्रमित हुदै गएका समाचार आउन थालेका छन् । जुन तथ्याङ्क निकै डरलाग्दो हो । दिनानुदिन सङ्क्रमितको सङ्ख्या बढ्दो छ भने मर्नेको सङ्ख्या उस्तै ।
विज्ञहरूका अनुसार यही अनुपातमा कोरोना सङ्क्रमित थपिदै जाने हो भने नेपाल पनि छिटै नै भारतको स्थितिमा पुग्ने देखिन्छ । यसपटक सङ्क्रमित हुनेहरूमा अधिकांश ३० देखि ५० वर्षको उमेर समूह रहेको बताइएको छ ।
हजारौँको सङ्ख्यामा थपिएका बिरामीका लागि चाहिने अक्सिजनको पनि कमि हुन थालेको चिकित्सकहरूले नै भन्न थालेका छन् । यो स्थितिमा जनमानसमा एक खालको भय पैदा भएको छ ।
कोरोना सङ्क्रमण दरलाई न्यून गर्न देशका अधिकांश स्थानमा लकडाउन अर्थात निशेधाज्ञा जारी गरिएको छ । तर निशेधाज्ञा जारी गरिएका स्थानहरूको संक्रमण दर झनै उच्च बन्दै गएको छ । पश्चिम नेपालको बाँकेमा सङ्क्रमितहरूको स्थिति भयावह छ ।
सङ्क्रमित भइसकेपछि अस्पतालसम्म लैजान साधन नपाएर ट्याक्टर तथा डोजरमा लैजाँदै गर्दा बिरामीको बाटोमै मृत्यु भएका खबरले मानवीय संवेदनामाथि प्रश्न खडा गरिदिएको छ । कोरोना सङ्क्रमितलाई एम्बुलेन्सले अस्पताल पुर्याउन नमानेको खबर सुन्दा समाजमा साँच्चै मानवता हराएको हो त भन्ने लागेको छ ।
बिरामीको उपचारका लागि अस्पतालमा भनसुन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यतिबेला कोराना सङ्क्रमित भइहाले अस्पताल जानुपर्ने अवस्थामा चिनजानका आधारमा भनसुन गरेर बिरामीले उपचार पाउने गरेका छन् ।
यस्ले के दर्साउँछ भने हाम्रो राज्य व्यवस्था यतिसम्म कमजोर रहेछ कि अब कोरोना लागि हाले सीधासाधा जनता उपचार नपाएरै घरमै मर्नुपर्ने स्थिति सिर्जना भएको छ ।
चैतको सुरुवातमै भारतमा कोरोनाको दोस्रो लहर सुरु भएको थियो । त्यसलगत्तै विज्ञहरूले नेपालमा पनि त्यसको प्रभाव पर्ने भन्दै सरकारलाई सतर्क रहन सुझाएका थिए ।
तर नेपाल भारत खुला सीमा नाका तथा नेपाल भएर तेस्रो मुलुक जाने भारतीय नागरिकहरूलाई सरकारले बेलैमा रोक लगाउन नसक्दा नेपालमा पनि स्थिति भयावह बन्दै गयो ।
यस सङ्कटका बेला मौकाको फाइदा उठाउने होइन एकले अर्कोलाई सहयोगको भावना राखौँ । यतिबेला कोरोना सङ्क्रमितको उपचारमा स्वास्थ्यकर्मीहरू दिनरात नभनी खटिरहेका छन् । कति स्वास्थ्यकर्मी आफैँ कोरोना सङ्क्रमित भएर पनि बिरामीको सेवामा लागिरहेको खबरले स्वास्थ्यकर्मीप्रतिको सम्मान उच्च गराइदिएको छ ।
सरकारले समयमै होल्डिङ सेन्टर, क्वारेन्टाइन तथा बिरामी उपचारका लागि चाहिने साधनस्रोत तथा जनशक्तिको व्यवस्थापन गर्न नसक्दा स्थिति झन जटिल बन्दै गएको छ ।
ठाउँठाउँबाट खबर आउन थालेका छन् कतै अक्सिजनको अभाव कतै स्वास्थ्यकर्मीको अभाव त कतै बिरामी अस्पतालसम्म पुर्याउने साधनको अभाव ।
दैनिक हजारौँको सङ्ख्यामा कोरोना सङ्क्रमित बिरामी थपिँदै छन् तर हाम्रो जस्तो मुलुकमा पर्याप्त स्रोत, साधन र जनशक्तिको अभाव छ । हजारौँको सङ्ख्यामा थपिएका बिरामीका लागि चाहिने अक्सिजनको पनि कमि हुन थालेको चिकित्सकहरूले नै भन्न थालेका छन् । यो स्थितिमा जनमानसमा एक खालको भय पैदा भएको छ ।
आम नागरिक कोरोना लागिहाले मरिन्छ कि भन्ने त्रासमा छन् । पहिलो चरणको कोरोना सङ्क्रमणबाट बल्लबल्ल पार लागियो भनेर खुशी भएको व्यापारव्यवसाय लगायतको अन्य क्षेत्र फेरि चौपट हुने स्थितिमा पुगेको छ ।
सामाजिक आर्थिक गतिविधि शून्य प्रायः भएका छन् । कोरोना सङ्क्रमणसँगै मुुलुकमा खाद्यान्नमा कालोबजारी सुरु भएको छ । बजार अनुगमन नहुदा केही दिनमै खाद्यान्नको मूल्य आकासिएको छ ।
एकातिर जनता खान नपाएर मर्ने अवस्थामा छन् भने अर्कोतर्फ सङ्क्रमणले मर्ने जोखिम उत्तिकै । एकातिर समाजमा यस्ता मानिस छन् जसले कोरोना लागिहाल्छ कि भनेर घरमा अक्सिजन सिलिन्डर किनेर राखेका छन् ।
यसले गर्दा अस्पतालमा अक्सिजन अभाव सिर्जना गरिदिन सक्छ । त्यसैले अनावश्यक रूपमा यसरी अक्सिजन खरिद गरेर राख्दा अस्पतालमा एउटा बिरामीको अक्सिजन अभावका कारण मृत्यु हुन सक्छ भन्ने कुरामा हेक्का राखौँ ।
फेरि पनि प्रधान्मन्त्रीज्यू कोरोना सामान्य विषय होइन । कोरोनाले देशमा विकराल स्थिति पैदा भइसकेको छ । कोरोना तपाईँले भने जसरी बेसार पानी र बेलाउतीको पातले सजिलै भाग्दैन ।
यस सङ्कटका बेला मौकाको फाइदा उठाउने होइन एकले अर्कोलाई सहयोगको भावना राखौँ । यतिबेला कोरोना सङ्क्रमितको उपचारमा स्वास्थ्यकर्मीहरू दिनरात नभनी खटिरहेका छन् । कति स्वास्थ्यकर्मी आफैँ कोरोना सङ्क्रमित भएर पनि बिरामीको सेवामा लागिरहेको खबरले स्वास्थ्यकर्मीप्रतिको सम्मान उच्च गराइदिएको छ ।
कोरोना सङ्क्रमणलाई जित्न सरकार र स्वास्थ्य निकाय मात्र लागि परेर हुँदैन । हामी आम नागरिकको पनि एउटा दायित्व हुन्छ कि यो सङ्कटको घडीमा सबै मिलेर सामना गर्ने ।
यस सङ्कटको घडीमा हामीले विश्व स्वास्थ्य सङ्गठनले तोकेका स्वास्थ्य मापदण्डहरूको पालना गर्न जरुरी छ । हामी सरकारमाथि दोष थुपारेर आफू सामान्य स्वास्थ्य मापदण्ड पनि पालना गर्दैनौँ । नेपालमा जनताको अटेरीपन हेर्ने हो भने अचम्मको छ ।
भीडभाड, विवाहभोज, मास्क नलगाउने, सामान्य सरसफाइमा ध्यान नदिने जस्ता हेलचक्र्याइँ । एउटा भनाइ छ नि ‘रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेस ।’
यस स्वास्थ्य सङ्कटको बेला हामी आआफ्नो स्थानबाट सरकारले तोकेका नियमहरूको पालना गरौँ । बिना काम घर बाहिर ननिस्कौँ, स्वास्थ्य सुरक्षामा खटिएकाहरूलाई उच्च सम्मान गर्दै सहयोग गरौँ ।
यस घडीमा एक असल नागरिक बनेर आफू आफ्नो परिवारको स्वास्थ्य आफ्नै हातमा छ भन्ने कुरालाई नर्बिसौँ । स्वास्थ्यका सामान्य मापदण्ड पनि पूरा नगर्दा तपाईँ हाम्रो पनि कोराना सङ्क्रमणका कारण मृत्यु भएको खबर छापिन सक्छ भन्ने कुरामा हेक्का राखौँ ।
फेरि पनि प्रधान्मन्त्रीज्यू कोरोना सामान्य विषय होइन । कोरोनाले देशमा विकराल स्थिति पैदा भइसकेको छ । कोरोना तपाईँले भने जसरी बेसार पानी र बेलाउतीको पातले सजिलै भाग्दैन ।
देशमा जनता भयवित छन् । कोरोना सङ्क्रमितले उपचार अभावमा ज्यान गुमाउनु पर्ने स्थिति नआवस् । त्यसका लागि तपाईँले आफू मातहतका संयन्त्रलाई चुस्त बनाउनु जरुरी छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८, १६:४५