काठमाडौँ । आफूविरुद्धको अविश्वासको प्रस्तावमा मतदान हुनुभन्दा अघिल्लो दिन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ ।
नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) लगायतका दलले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदानका लागि भोलि प्रदेश सभा बैठक बोलाइएको छ ।
मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले अहिलेसम्म गरेको कामका लागि धन्यवाद दिँदै अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म संविधानको धारा १ सय ६९ को उपधारा (३) बमोजित मौजुदा मन्त्रिपरिषदले कार्यसञ्चालन गर्न आग्रह गर्नुभएको छ ।
संविधानको धारा १ सय ६८ (२) बमोजिम तीन दिनभित्र नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई आह्वान पनि प्रदेश प्रमुख पौडेलले गर्नुभएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८, १७:३६