काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेका छन्।
आजको प्रतिनिधि सभाको विशेष अधिवेशनको बैठकमा नेपाल र खनाल पक्षका सांसद अनुपस्थित हुने र राजीनामा पनि तत्काल नदिने निर्णय गरिएको नेता भीम रावलले जानकारी दिनुभयो ।
राजीनामा दिने कि अनुपस्थित हुने भन्नेबारे नेपाल-खनाल पक्षका सांसदहरूले आज बिहान सिंहदरबारमा छलफल गरेका थिए ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले भने मतदानमा सहभागी हुन आग्रह गर्दै सामाजिक सञ्जाल ट्विटरमा सन्देश लेख्नुभएको छ ।
उहाँले लेख्नुभएको छ, ' नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ । त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ।' पार्टीभित्र भएका समस्या संवादबाटै समाधान गर्नेमा ओलीको जोड छ ।
'यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।' ओलीले भन्नुभएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८, ११:१९