काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाउनुभएको छ । विश्वासको मत लिनका लागि आज सङ्घीय संसदमा भएको विशेष अधिवेशनको बैठकमा मतदान हुँदा ओलीको विश्वासको पक्षमा ९३ मत पर्यो भने विपक्षमा १ सय २४ सांसदले मत दिए ।
प्रधानमन्त्रीले संसद्मा विश्वासको मत पाउन एक सय ३६ मत आवश्यक हुन्थ्यो । १५ सांसद भने तटस्थ बसेका छन् ।
नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई पक्षका सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले प्रधानमन्त्रीको विपक्षमा मतदान गरेका हुन् ।
जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षका सांसद भने तटस्थ बसे। नेकपा (एमाले) नेता माधवकुमार नेपाल पक्षका सांसद बैठकमा सहभागी भएनन्।
प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत गुमाएसँगै संविधानको धारा १०० को उपधारा (३) बमोजिम पद मुक्त हुनुभएको छ ।
उपधारा (३) मा संसद्मा ‘पेश भएको प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने उल्लेख छ।
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८, १७:५४