काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठकले चार जना नेतामाथिको कारबाही फुकुवा गरेको छ ।
बालुवाटारमा आज बिहान बसेको बैठकले पार्टीको एकतालाई ध्यानमा राखी नेताहरू-माधवकुमार नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फिर्ता लिने निर्णय गरेको प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।
बैठकले सरकार र पार्टीका सम्बन्धमा थप निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।
स्थायी कमिटीको बैठकअघि नेता विष्णु पौडेल लगायतले नेता माधवकुमार नेपाललाई उहाँकै निवास कोटेश्वरमा गएर छलफल गर्नुभएको थियो । सर्वदलीय सरकरा गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज राति ९ बजे सकिँदैछ ।
यसबीचमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षबीच सरकार गठनका लागि छलफल भइरहेका छन् । यो समूहले एमालेको असन्तुष्ट समूहले राजीनामा गरेमा सरकार गठनमा सजिलो हुने निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री ओली भने आफ्नो पार्टीका असन्तुष्ट समूहलाई विश्वासमा लिएर जसपाको महन्त ठाकुर पक्षको सहयोगमा आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिने पक्षमा हुनुहुन्छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८, ११:३८