काठमाडौँ । जसपाकाका ४ जना सांसदलाई पद मुक्त नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले उनीहरुलाई सांसद पदबाट पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
पदमुक्त सांसदहरुले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले जनता समाजवादी पार्टीका ४ सांसद सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेको सांसद पद कायम रहने जनाएको हो ।
अब यही जेठ १६ सम्म उनीहरूको सांसद पद कायम रहनेछ । सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि १६ जेठमा बोलाएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका उनीहरू पोखरेलकै मन्त्रिमण्डलमा सहभागी भएपछि जसपाको उपेन्द्र यादव तथा डा बाबुराम भट्टराई पक्षले कारबाही गरेको थियो ।
त्यसैका आधारमा प्रदेश सभाले सूचना निकालेर पदमुक्त भएको जानकारी गराएको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८, १९:२३