काठमाडौँ । नोबल कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न र सङ्क्रमितको उपचारका लागि राधा पौडेल फाण्डेसनले काठमाडौँ उपत्यका बाहिरका ८ अस्पतालका लागि विद्युतबाट अक्सिजन दिन सक्ने मेसिनसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
फाउन्डेसनले बिभिन्न अप्ठ्यारोमा रहेका ८ सरकारी अस्पताललाई स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा करिब २५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको निर्देशक राधा पौडेलले जानकारी दिनुभयो ।
संसारभर छरिएका मनकारीहरूसँग हातेमालो गर्दै सहयोग जुटाएर अस्पतालहरुलाई सामग्री पठाएको उहाँको भनाइ छ ।
फाण्डेसनले नागरिक कोभिड अस्पताल सुर्खेत, भेरी अस्पताल नेपालगञ्ज, माडी अस्पताल चितवन, परासी अस्पताल नवलपरासी पश्चिम, गजुरी स्वास्थ्य केन्द्र धादिङ, नारायणी उपक्षेत्रीय अस्पताल बीरगञ्ज, आँपपीलल अस्पताल गोरखा र जौबारी स्वास्थ्य केन्द्र गोरखालाई सहयोग गरेको हो ।
फाउन्डेसनले मर्यादित महिनाबारी सञ्जालका संसारभर नै छरिएर रहेका अभियनताहरूबाट सहयोग सङ्कलन गरेको थियो ।
फाण्डेसनले चीनबाट खरिद गरेको २० थान अक्सिजन कन्सन्ट्रेटरसहित पल्स अक्सिमिटर १०० थान, पीपीई १०० थान, फेस सिल्ड १००० थान, महिनावारी प्याड ९२० थान र मास्क ५००० थान लगायतका स्वास्थ्य सामग्री वितरण गरेको जनाएको छ ।
अस्पतालहरूमा बेड, अक्सिजन, भेन्टिलेटर र औषधिको अभावका कारण सङ्क्रमितहरू उपचार नपाएर ज्यान गुमाउनुपरेको अवस्थामा अभियान जारी रहने पनि फाण्डेसनले जनाएको छ ।
राधा पौडेल फाउन्डेसनले स्थापना कालदेखि नै बिभिन्न समयमा आइपरेका विपद तथा कोभिड -१९ मा पहिलो लहरमा काम गर्दै आएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८, २०:३५