काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटीको बैठकले नेता माधवकुमार नेपालसहित ११ जनालाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले पार्टीको विरुद्ध विपक्षी दलका नेतालाई प्रधानमन्त्रीदेखि सांसद बनाउन समर्थन गरेको र स्पष्टिकरण पनि नदिएको भन्दै निस्कासनको निर्णय गरेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।
नेता नेपालसहित झलनाथ खनाल, भीम बहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणी कुमारी खड्कालाई पार्टी विरुद्ध गतिविधि गरेकोमा निस्कासन गर्ने निर्णय स्थायी कमिटीको बैठकले गरेको हो ।
बैठकले पार्टी अनुशासन विपरित गतिविधि गर्ने नेता सुरेन्द्र पाण्डेसहित १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रमुख सचेतक भट्टराईले बताउनुभयो ।
पाण्डेसहित नेताहरु घनश्याम भुसाल,भवानी खापुङ, यज्ञराज सुनुवार, विरोध खतिवडा,जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, झपट रावल, दीपकप्रकाश भट्ट र नारायण खतिवडासहित १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको हो।
बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय पनि गरेको छ।
प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८, १९:४३