काठमाडौँ । पूर्वसभामुखहरूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेको बताएका छन् ।
आज सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गर्नुभएको छलफलमा सहभागी हुँदै उनीहरुले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले सङ्कट निम्त्याएको टिप्पणी गरेका हुन्।
छलफलमा पूर्वसभामुख रामचन्द्र पौडेलले सर्वोच्च अदालतले न्याय दिने विश्वास व्यक्त गर्नुभयो । पूर्व सभामुख ओनसरी घर्तीले पनि विपक्षी दलहरुको माग अनुसार नै सर्वोच्चबाट निर्णय आउने अपेक्षा गरेको बताउनुभयो ।
ओली नेतृत्वको सरकारको सिफारिसमा दोस्रोपटक प्रतिनिधि सभा विघटन भएपछि सभामुख सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गर्नुभएको हो ।
छलफलपछि पत्रकारसँग कुराकानी गर्दै काँग्रेस वरिष्ठ नेतासमेत रहनुभएका पौडेलले संसद् बैठक बोलाउने वा के गर्ने भन्ने बारेमा सभामुख सापकोटाले राज्य व्यवस्था परामर्श समिति तथा कानुनविदसँग पनि परामर्श गर्ने जानकारी दिनुभयो ।
पूर्वसभामुखहरू पौडेल, घर्ती, कृष्णबहादुर महरा छलफलमा सहभागी हुनभएको थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८, १६:२५