काठमाडौँ । विपक्षी गठबन्धनका उम्मेद्वार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै परेको रिटमा आजबाट संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ ।
१ सय ४६ सांसदले सर्वोच्च पुगेर दायर गरेको निवेदन संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो । तीन महिनाको अवधिमा दोस्रो पटक भएको प्रतिनिधि सभा विघटन बदर गर्न पनि रिटमा माग गरिएको छ ।
सर्वोच्चमा यो सहित ३० वटा मुद्दा रहेका छन् । प्रधान न्यायाधीशसहित पाँच न्यायाधीश संलग्न रहने यो इजलासले अन्तरिम आदेश जारी गरेमा देउवा नयाँ प्रधानमन्त्रीमा नियुक्त हुन बाटो खुल्नेछ ।
यही जेठ ७ गते मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाले पेश गरेको दुवै दावी खारेज गर्दै प्रतिनिधि सभा विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा गर्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८, ०९:१९