काठमाौँ । सरकारले बिभिन्न तीन देशका लागि सातामा एक दिन अन्तर्राष्ट्रिय उडान खुला गर्ने निणर्य गरेको छ ।
स्वास्थ्य सामग्रीको ओसारपसारलाई सहज बनाउनका लागि हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उडान खुला गर्ने निणर्य गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद बैठकले कतार, चीन र टर्कीका लागि उडान खुला गर्ने निणर्य गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अध्ययन गरी कति गतेदेखि उडान खोल्ने भन्नेबारे निणर्य गर्नसक्ने जिम्मेवारी दिइएको छ ।
कोभिड-१९ सँग सम्बन्धित अतिआवश्यक स्वास्थ्य सामग्री ल्याउनुपर्ने भएर हाल तीन देशका लागि उडान खुला गर्ने निणर्य भएको जानकारी दिँदै मन्त्री ज्ञवालीले उडान हुने भएपछि त्यस देशका नागरिक स्वास्थ्य मापदण्ड पूरा गरेर ओहोरदोहोर गर्न सक्ने बताउनुभयो ।
गत वैशाख १६ गतेदेखि कोभिडका कारण निषेधाज्ञा जारी भएपछि सरकारले २० गतेदेखि आन्तरिक र २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८, ०९:२९