काठमाडौँ । काम गर्ने वातावरण नभएको भन्दै बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका छन् । स्वास्थ्यकर्मीहरुले सुरक्षाको सुनिश्चितता नभएसम्म काममा नफर्किने चेतावनी दिएका छन् ।
दाङका एक कोरोना सङ्क्रमितको उपचारका क्रममा गएराति मृत्यु भएपछि उनका आफन्तहरुले चिकित्सक तथा नर्सहरुमाथि कुटपिट गरेका थिए ।
कुटपिटबाट २ जना चिकित्सक र ३ जना नर्स घाइते भएको बाँकेका कोरोना अस्पतालहरुको उपचार तथा समन्वय प्रमुख नरेश श्रेष्ठले सीआईएनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार घटना बारे वास्तविक्ता पत्ता लगाउन आज बिहान साढे १ बजेसम्म भएको सरोकारवाला निकायको बैठकले ७ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर बिष्टको संयोजकत्वमा गठित समितिमा प्रहरी, बिभिन्न पेशागत सङ्गठनका प्रतिनिधि सदस्य छन् । समितिलाई ३ दिनभित्रमा प्रतिवेदन बुझाउन भनिएको छ ।
घटनामा संलग्न भएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोरोना सङक्रमितको उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणमा संलग्नलाई कडा कारबाही गर्न माग गरिएको र कुनै एक व्यक्तिको कारण अरु बिरामीले उपचार नपाउने अवस्था नआवस् भन्नका लागि अस्पतालको कोरोना उपचार सेवा भने निरन्तर रहेको कोरोना अस्पतालहरुको व्यवस्थापन तथा समन्वय प्रमुख श्रेष्ठले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८, १०:१५