काठमाडौँ । मुलुकभरका सामुदायिक रेडियोहरुको नेटवर्क, सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले १२ औँ स्थापना दिवस मनाएको छ । सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएन आजबाट १३ वर्षमा प्रवेश गरेको हो ।
आज भएको भर्चुअल कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले नेपालको भौगोलिक अवस्थितिले गर्दा पनि सामुदायिक रेडियोको भूमिका अझैँ महत्वपूर्ण रहेको बताउँदै नेपालको मिडियाले सङ्कटको समयमा सधैँभरि मुख्य भूमिका खेलेको उल्लेख गर्नुभयो ।
कोरोना मात्रै नभइ हरेक किसिमका स्वास्थ्य संकटका समयमा सञ्चारमाध्यमले जिम्मेवार भूमिका निर्वाह गरिरहेको र त्यसमा पनि रेडियोहरूको भूमिका प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।
भूकम्प, बाढी, पहिरो होस् वा वर्तमानको जस्तो कोरोना कालमा पनि रेडियोहरूको भूमिका सधैँभरि महत्वपूणर् रहेको बताउनुभयो ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री चेतनारायण आचार्यले सीआईएनले सूचनाको हक प्रत्याभूत हुने गरिकन गाउँघरसम्मको पहुँचमा पुग्ने समाचार तथा कार्यक्रम प्रस्तुत गरिरहेको प्रति खुसी व्यक्त गर्नुभयो ।
सामुदायिक रेडियोहरू सधैँभरि सूचनाको सारथी बनिररहेको भन्दै उहाँले विपदको क्रममा रेडियोको भूमिका अझैँ महत्वपूणर् हुने बताउनुभयो ।
सामुदायिक रेडियोको सुधारको निमित्त प्रदेश सरकारले सधै सघाउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले समुदायलाई सुसूचित गर्न सीआईएनले महत्वपूणर् भूमिका खेलेको भन्दै १२ वर्ष पार गरेकोमा शुभकामना पनि दिनुभयो ।
दक्षिण एसियाकै सबैभन्दा ठूलो रेडियो नेटवर्क सीआईनसँग सम्मन्व र सहकार्य गरेर अगाडि बढ्न तयार रहेको पनि उहाँले बताउनुभयो ।
नीति तथा कार्यक्रममा पनि समुदायिक रेडियाको लागि कुनै न कुनै रुपमा सम्बोधन गर्ने उहाँले जानकारी दिनुभयो ।
सामुदायिक रेडियो र सीआईएनले प्रदेश २ मा सूचना तथा जानकारी प्रवाह गराउनको लागि सकारात्मक भूमिका खेलेको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केशबराज पाण्डेले छोटो समयमा नेपालभर पुग्ने र सूचना प्रवाह गर्ने मामिलामा रेडियोले महत्वपूणर् भूमिका खेलेको टिप्पणी गर्नुभयो ।
देशभरिका सामुदायिक रेडियोसँग सहकार्य गरेर अगाडि बढिररहेको सीआईएनले समाजमा जनचेतना जगाउन महत्वपूणर् भूमिका खेलेको धारणा राख्नुभयो ।
शिक्षाविद् डा विद्यानाथ कोइरालाले सामुदायिक रेडियोले देशभरिको भाषा, कला, सस्कार सस्कृतिहरू देशभरि पुर्याउन सहयोग पुर्याउनुपर्ने बताउनुभयो । तराईका राम्रा पक्ष हिमाल, पहाडमा, पहाडका राम्रा पक्ष तराइमा पुर्याउने गरी रेडियोले काम गर्नुपर्ने धारणा राख्नुभयो ।
सामुदायिक रेडियो प्रसारक संघ(अकोराब) का अध्यक्ष अर्जुन गिरीले सीआईएनले बितेको १२ वर्षमा पाएको सफलतामा स्रोता तथा शुभचिन्तक र सरकारी अनि गैरसरकारी संस्थाहरूको योगदान महत्वपूणर् भएको उल्लेख गर्नुभयो ।
देशभरमा छरिएर रहेका सामुदायिक रेडियो र रेडियोकर्मीको क्षमता विकास र सूचनाको दोहोरो आदानप्रदानमा सीआईएनले सजिलो बनाएको उहाँको भनाय थियो ।
कार्यक्रममा विकास विज्ञ डा. आरसी लामिछानेले रेडियोको भूमिका यस्तो विपदको समयमा अति नै महत्वपूणर् रहने भन्दै युवा र विकासलाई केन्द्रमा राखेर रेडियोले काम गर्नुपर्ने बताउनुभयो ।
रेडियोका अभियन्ता तथा सीआईएनका पूर्व संयोजक सोहम सुवेदीले आगामी दिनमा समुदाय र युवाहरूलाइ केन्द्रमा राखेर काम गर्न सुझाव दिनुभयो ।
समुदायको सकारात्मक रुपान्तरण गर्नको लागि सीआईएनले अझैँ काम गर्नुपर्ने भन्दै उहाँले समुदायको वास्तविक आवाज मुखरित गर्नको लागि अझैँ पनि सँगसँगै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अकोरोबका वरिष्ठ उपाध्य विष्णु अवस्थीले केन्द्रका समाचार स्थानीयस्तरमा र स्थानीय विषयलाई केन्द्रसँग जोड्ने सीआईएनको अभ्यासको प्रशंसा गर्नुभयो । आगामी दिनमा सामुदायिक रेडियोकर्मीको क्षमता विकासका योजना निर्माण र कार्यान्वयनमा सीआईएनको भूमिका आवश्यक रहेकोमा उहाँको जोड थियो ।
अकोराबका महासचिब किशोरजंग थापाले सीआईएन सम्पूणर् रेडियोहरुको साझा संस्था भएकाले सीआईएनसँग सहकार्य गर्दै अगाडि बढ्न आग्रह गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक तथा स्वतन्त्र रेडियोका अभियन्ता घमराज लुइँटेलले निष्पक्ष सूचना प्रदान गर्ने सञ्चारमाध्यमको रुपमा सीआईएनले आफ्नो छबी बनाएको टिप्पणी गर्नुभयो ।
आफूले दैनिक सूचना लिने सञ्चारमाध्यममा सीआईएन पनि पर्ने भन्दै उहाँले सम्पादकीय स्वतन्त्रताको अधिकार आफूले पनि प्रयोग गर्ने र आफूले पठाएका समाचारमा सदस्य रेडियोलाई पनि दिने कार्य उदाहरणीय हो भन्नुभयो ।
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८, १४:१०