काठमाडौँ । सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले आफ्नो १२ औँ वार्षिकोत्सवका अवसरमा बिभिन्न जिल्लाका ५ जना रेडियोकर्मीलाई पुरस्कृत गरेको छ ।
सीआईएनमा कार्यरत १ र देशभरिका सामुदायिक रेडियोमा कार्यरत पत्रकारलाई आज पुरस्कृत गरिएको हो । सीआईएनबाट स्नेहा कर्ण, रेडियो सीमरा बाराबाट अविनास आचार्य र विजय एफएम नवलपरासीबाट पवित्रा पराजुलीलाई सामुदायिक रेडियो पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
धुर्कोट एफएम गुल्मीमा कार्यरत हुमाकान्त पोखरेललाई दिगो शान्ति सामुदायिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ भने रेडियो उदयपुरमा कार्यरत रञ्जु दनुवारलाई स्वयमसेवी सामुदायिक रेडियो पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
तीनवटै विधाको पुरस्कारको राशि १५ हजार रहेको सीआईएनका समाचार प्रमुख गोबिन्द खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार सीआईएनमा वर्षभरि गरिएको रिपोर्टिङ, विषयवस्तुको गाम्भीर्यता, प्रस्तुति लगायतका बिभिन्न मापदण्डका आधारमा पुरस्कारका लागि योग्य व्यक्ति छनौट समितिको सिफारिसका आधारमा पुरस्कार दिइएको हो ।
५ जनाको विज्ञ समूह गठन
सीआईएनको वार्षिकोत्सवको अवसरमा ५ जनाको विज्ञ समूह पनि गठन गरिएको छ । सीआईएनको समाचार, कार्यक्रमहरू सुनेर सल्लाहसुझाव दिनको लागि वरिष्ठ व्यक्तिहरु संलग्न विज्ञ समूह गठन गरिएको हो ।
समूहमा शिक्षाविद् डा. विद्यानाथ कोइराला, पत्रकार तथा विश्लेषक चन्द्रकिशोर, पत्रकार तथा अधिकारकर्मी बबिता बस्नेत, पत्रकार सुमन खरेल र यशोदा तिमल्सिना रहनुभएको छ ।
यो समूहको सकभर मासिक रूपमा बैठक बसेर सीआईएनका प्रसारण सामग्रीका बारेमा समीक्षा तथा आगामी रणनीति बनाउन सुझाव दिने सीआईएनका म्यानेजर दीपक आचार्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८, १४:५३