काठमाडौँ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन चुनौतीपूर्ण हुने विज्ञहरुले टिप्पणी गरेका छन् । सरकारले हिजो आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।
सीआईएनसँग कुराकानी गर्दै अर्थविद् डा जनार्दन आचार्यले बजेटका कार्यक्रम आकर्षक भए पनि कार्यान्वय हुनेमा शङ्का व्यक्त गर्नुभयो । 'समग्रमा नारा र रकमो विनियोजन राम्रो सुनिएको छ । तर कार्यान्वयका लागि स्रोतको व्यवस्थापन भनेजस्तो सजिलो देखिँदैन ।' आचार्यले भन्नुभयो ।
उद्योगी तथा व्यवसायीले भने आफूहरुको माग अनुसारकै बजेट आएको भन्दै खुसी व्यक्त गरेका छन् । विपक्षी दलहरुले सरकारले चुनाव लक्षित गरी मतदातालाई प्रभावित पार्नका लागि बजेट केन्द्रित गरेको टिप्पणी गरेका छन् ।
सीआईएनसँगको कुराकानीमा नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले कार्यान्वयन गर्नका लागि भन्दा पनि जनता झुक्याउने गरी बजेट ल्याइएको बताउनुभयो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हिजो बजेट प्रस्तुत गर्नुभएको थियो । अर्थमन्त्री पौडेलकाअनुसार संघीय सरकारले खर्च गर्ने चालु खर्च तर्फ ६ खर्ब ७८ अर्व ६१ करोड रुपैयाँ विनियोजन गरेको छ ।
यो कुल बजेटको ४१.२ प्रतिशत हो । सरकारले पुँजीगत तर्फ तीन खर्व ४७ अर्व रुपैयाँ छुट्याइएको छ । त्यो कुल बजेटको २२.७ प्रतिशत हो । सोहीअनुसार वित्तिय व्यवस्था तर्फ २ खर्ब ७ अर्व ९७ करोड रुपैयाँ विनियोजन भएको छ ।
यो कुल बजेटको १२.६ प्रतिशत हो । अध्यादेशमार्फत ल्याइएको यस आवको बजेटमा धेरै लोकप्रिय कार्यक्रम समेटिएका छन् । प्रमुख प्रतिपक्षी दलहरुले यो अवस्थामा पूर्णआधारको बजेट ल्याउन नहुने जिकिर गरिरहेका बेला सरकारले पुर्ण आकारको बजेट ल्याएको हो ।
बजेटको पूर्णपाठः
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८, ०७:१५