काठमाडौँ । कोरोना सङ्क्रमको जाँच घटाएका कारण मृत्युदर घटेको टिप्पणी भइरहेको बेला सरकारले भने परीक्षणको दायरा बढाइएको दावी गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले केही सञ्चारमाध्यमले सरकारले परीक्षणको दायरा कम गरेको भनेर खबर प्रसारण गरेकोमा असहमित जनाउनुभयो ।
पौडेलले सरकारले पीसीआर मात्र नभएर ७ सय ५३ वटै स्थानीय तहमा १५ सयका दरले ११ लाख एन्टिजेन किटसमेत वितरणको योजना बनाएको बताउनुभयो ।
हिजो प्राविधिक कठिनाइका कारण धुलिखेल, पाटन, जलेश्वर, भेरी अस्पताल, युनिभर्षल मेडिकल कलेज भैरहवा र अन्य केही मुख्य प्रयोशालाबाट रिपोर्ट आउन नसक्दा परीक्षणको सङ्ख्या कम भएको प्रवक्ता पौडेलले बताउनुभयो ।
एन्टिजेन परिक्षण भने हालसम्म १७ सय मात्र भएको मन्त्रालयले जानकारी दिएको छ । केही दिनअघिसम्म जाँच दैनिक २० हजारभन्दा बढी पुगेको भए पनि केही दिनयता भने घटेको थियो ।
यसैबीच नेपालमा आँखामा देखिने म्यूकोरमाइकोसिस रोगका १२ जना बिरामी फेला परेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडलेले वीरगञ्ज, नेपालगञ्ज र काठमाडौंमा रहेका अस्पतालबाट सङ्कलन गरिएको विवरण अनुसार १२ जनामा कालो ढुसीको सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
कालो ढुसीको सङ्क्रमणबाट जोगिन प्रयोग हुने औषधि ‘एम्फोटेरिसिन बी’ विश्व स्वास्थ्य संगठनबाट माग गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८, १०:३६