काठमाडौँ । विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको उपचारका क्रममा निधन भएको छ ।
दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज दिउँसो ४:२५ बजे निधन भएको मेडसिटी अस्पतालका सञ्चार अधिकृत मोनिता पोखरेलले बताउनुभयो ।
नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माण र अभ्यासमा थापाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले पूर्व संयोजक थापाको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।
बैठकले थापाको स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्य तिथिमा प्रत्येक सदस्य र शुभचिन्तकहरूलाई कम्तीमा एउटा वृक्षारोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पङ्क्ति र सदस्यहरूलाई आह्वान गरेको अध्यक्ष रवीन्द्र मिश्रले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसबीचमा पार्टीमा "उज्वल थापाको जीवन र विचार" विषयमा छलफल र बहस चलाउने निर्णय पनि भएको छ।
खास गरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकार लगायतका मुद्दामा दलहरूले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमको लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न थापाको अहम् भूमिका छ।
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८, १७:४३