काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही जेठ २५ गतेबाट देशभरि कोरोनाविरुद्धको खोप अभियान चलाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
सरकारले गत माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । विभिन्न चरणमा गरेर सरकारले हालसम्म २८ लाख २७ हजारभन्दा बढीलाई खोप लगाइसकेपछि फेरि खोप अभियान चलाउन लागिएको हो ।
सिरहाका रामपुकार यादव ७१ वर्ष पुग्नुभयो, उहाँलाई कोरोनाविरुद्धको खोप लगाउने इच्छा छ । अघिल्लो पटक खोप अभियान बारे थाहै भएन ।
यसपाली पनि खोप कहाँ, कहिले र कसरी पाइन्छ भन्ने जानकारी आफूहरूलाई नदिइएको उहाँको भनाइ छ ।
सरकारले हालसम्म खोप अभियान अन्तर्गत कोरोना महामारीमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, सांसद, सरकारी तथा वित्तिय क्षेत्रका कर्मचारी अनि ५५ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइसकेको छ ।
तर, ती खोप अभियानमा लक्षित सबै जना अटाउन नसकेको बताउनुहुन्छ अछामका ६५ वर्षका भजनीदेवी खड्का ।
यसअघि कोभिसिल्ड खोप लगाएकाहरूको सन्दर्भमा खोप निर्माता कम्पनी र कोभ्याक्समार्फत् उपलब्ध हुने खोप समयमै नआउँदा दोस्रो मात्रा लगाउने समय लम्बिएको छ । तर चिनबाट आएको भेरोसेल खोप दुर्गमका बस्तीहरुमा पनि पुर्याउनु पर्ने आम नागरिकको माग छ ।
नेपालमा हालसम्म भारतमा बनेको कोभिशिल्ड र चीनमा बनेको भेरोसेल खोप लगाईएको छ । खोप अभियानलाई निरन्तरता दिन चीनबाट थप १० लाख डोज खोप नेपाल आइपुगेको छ ।
स्थानीय सरकार खोप अभियान सुरु गर्न तयारी अवस्थामा रहेको भोजपुरको साल्पासिलिछो गाउँपालिकाका स्वास्थ्य संयोजक जगरनाथ साहले जानकारी दिनुभयो ।
दुर्गम क्षेत्रमा खोप अभियान हालसम्म प्रभावकारी रूपले सञ्चालन हुन सकेको छैन । कारण लक्षित समूहले खोप अभियान र खोपको प्रभावकारी बारे पर्याप्त जानकारी पाउन सकेका छैनन् ।
सहरी र सुगम क्षेत्र केन्द्रीत खोपलाई विकट ठाउँहरुमा समेत पुर्याउने गरी हुम्लाको सर्केगाड गाउँपालिकाले योजना बनाइरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी बताउनुहुन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका खोप सल्लाहकार समितिका संयोजक डा तारा पोखरेलका अनुसार यसपालीको खोप अभियान जेठ २५ गतेबाट सुरु हुनेछ र दुर्गम क्षेत्रकै लक्षित समूहका नागरिक प्राथमिकतामा रहनेछन् ।
यसअघि कोभिसिल्ड खोप लगाएकाहरूको सन्दर्भमा खोप निर्माता कम्पनी र कोभ्याक्समार्फत् उपलब्ध हुने खोप समयमै नआउँदा दोस्रो मात्रा लगाउने समय लम्बिएको छ । तर चिनबाट आएको भेरोसेल खोप दुर्गमका बस्तीहरुमा पनि पुर्याउनु पर्ने आम नागरिकको माग छ ।
अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८, १०:०९