काठमाडौँ । विगत तीन साताको तुलनामा काठमाडौँको टेकु अस्पतालमा भर्ना हुने कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्यामा कमि आएको छ ।
अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा.अनुप बास्तोलाका अनुसार गाउँ-गाउँमा सिकिस्त बिरामीको सङ्ख्या धेरै रहेका कारण काठमाडौँ उपत्यका बाहिरबाट बिरामी आउनेक्रम भने चलिरहेको छ ।
‘अहिले कोरोना सङ्क्रमितको सङ्ख्या विगत ३ हप्ताको तुलनामा केही कम छ । वैशाख पहिलो साता टेकु अस्पतालको इमर्जेन्सीमा जुन दरमा सिकिस्त बिरामी आएका थिए, जेठको अन्तिम साता त्यही दरमा बिरामी भर्ना भएका छन् । तर, वैशाखको पहिलो साताको तथ्याङ्क बढ्दो क्रममा थियो भने अहिले घट्दो क्रममा छ ।’ डा बास्तोलाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।
दोस्रो लहरमा खोप लगाएका मानिस सङ्क्रमित भए पनि कम मात्र सिकिस्त भएको उल्लेख गर्दै उहाँले थप्नुभएको छ, ‘यसले के देखाउँछ भने, कोरोनाबाट बच्न खोप एक मात्र अचुक उपाय हो । अबको अभियान धेरैभन्दा धेरैलाई खोपको व्यवस्था नै हो ।’
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८, १०:१९