काठमाडौँ । काठमाडौं महानगरपालिका ७ का केशव आचार्यले घरको छतमा नै तरकारी खेती गर्नुभएको छ ।
छतमा ४ फिट चौडाइ र १० फिट लम्बाइ भएको सानो टनेल छ । सिल्पलिन अर्थात प्लाष्टिकमा नरिवलको जटाको धुलो (कोकोपिट) मा माटो र कम्पोष्ट मल मिसाएर फर्सी, काँक्रा, गाजर, चुकन्दर, धनियाँ, साग लगायतका तरकारी फलाउनु भएको छ ।
‘रायोसहित धेरै प्रजातिका साग, धनियाँ, चम्सुर, लसुन खायौँ । अहिले जुकेनी फर्सी फलिरहेको छ, काँक्रो र करेला चिचिला लागेको छ ।’ आचार्य भन्नुहुन्छ, ‘तीन महिनाअघि बनाएको कौसी बारीमा झण्डै ३० हजार लगानी भएको छ । अब वर्षे तरकारी लगाइन्छ, तीन वर्षमा लगानी उठ्छ ।’
आफैँले फलाएपछि भान्छामा तरकारीबाट आउने विषयको मात्रा घटाउन सकिने र कौसी बारीमा काम गर्दा शरीरिक व्यायामसमेत हुने भएकोले स्वास्थ्य अझ राम्रो हुने आचार्यको अनुभव छ ।
ढलान घरको कौसी वा छतमा माटो र कम्पोष्ट मल मिसाएर गमला वा प्लाष्टिकका भाँडामा खेती गर्न सकिन्छ । अर्थविद समेत रहनु भएका आचार्य थोरै समय र खर्चमा आफैले फलाएको तरकारी खाँदा रकम मात्रै जोगिने नभइ स्वास्थ्यलाई पनि फाइदा पुग्ने बताउनुहुन्छ ।
५ जनाको परिवारलाई औसतमा दिनको २ सय रुपैयाँको तरकारी आवश्यक पर्छ, वर्षमा कम्तिमा ७० हजार रुपैयाँ तरकारी किन्न खर्च हुन्छ । कौसी पनि हराभरा हुने, आफैँले फलाएको तरकारी चाहेको बेला टिपेर खान पनि पाइने ।
‘सिङ्गापुर जो इण्डोनेसियाबाट बालुवा किनेर ल्याएर घर बनाउनुपर्ने देशले पनि कौसीमा धेरै चिज फलाएर अरु देशमासमेत निर्यात गर्छ । कौसी बारी बनाएर तरकारी फलफूल फलाउनु भनेको घरको खाली जग्गाको सदुपयोग पनि हो’ उहाँले भन्नुभयो ।
नोबेल कोरोना भाइरसको सङ्क्रमणको कारण अहिले घरबाहिर हिड्ने, घुम्ने समय छैन । घरमा नै बसिरहेका बेला गर्न सकिने एउटा काम हो कौसी खेती । तपाईँसँग खेत बारी छैन, तर छत वा कौसीमा अलिकति ठाउँ छ भने तरकारी खेती गर्न सकिन्छ ।
काठमाडौँका झण्डै ६० लाख ढलान घरको छत तथा कौसीमा तरकारी फलफूल लगाएर बर्सेनि आयात हुने तरकारीलाई रोक्न र सवदेशी पैसा बचत गर्न सकिने अर्थविद आचार्यको भनाइ छ ।
‘काठमाडौंका १५ लाख घरधुरीले मात्रै पनि खेर जाने छत र कौसीमा तरकारी फलाए भने हामीले भारतबाट आयात गर्ने तरकारी फलफूल घटाउन सक्छौँ ।’ उहाँ भन्नुहुन्छ, ‘तरकारीका लागि वाहिरिने करोडौँ रकम रोक्न सकियो भने व्यापार घाटा कम गराउन मद्दत गर्छ र सर्वसाधारणको स्वास्थ्यलाई पनि आफ्नै उत्पादनले राम्रो गर्छ ।’
कौसी खेतीमा लाग्दा मान्छेलाई बरालिने वा समय बिताउने ठाउँ हुने उहाँको बुझाइ छ । आचार्य भन्नुहुन्छ, ‘सहरमा जग्गा किनेर घर बनाउन समेत गाह्रो भएको बेला खेती गर्न छुट्टै जग्गाको सम्भावना छैन । बरु खेर जाने कौसी र छतलाई नै तरकारी फलफूल फलाउन सदुपयोग गर्नुपर्छ ।’
५ जनाको परिवारलाई औसतमा दिनको २ सय रुपैयाँको तरकारी आवश्यक पर्छ, वर्षमा कम्तिमा ७० हजार रुपैयाँ तरकारी किन्न खर्च हुन्छ । कौसी पनि हराभरा हुने, आफैँले फलाएको तरकारी चाहेको बेला टिपेर खान पनि पाइने ।
माटोमात्रैमा भन्दा नरिवलको जटाको धुलो (कोकोपिट) मा माटो र मल मिसाएर खेती गर्दा कौसीलाई भार नपर्ने गरी तरकारी खेती गर्न सकिने अभियान एग्रोका व्यवस्थापक सुवास पण्डित बताउनुहुन्छ ।
कौसी खेती गर्न चाहनेले स्थानीय तहका कृषि प्राविधिक वा विज्ञसँग सल्लाह गरेर पनि खेती गर्न सक्छन् । तर यसको आधुनिक प्रविधि सिकेर खेती गर्न सके फाइदाजनक हुने कौसी खेती अभियानमा लाग्नुभएका पण्डित बताउनुहुन्छ ।
‘माटोको मात्रा धेरै हुन्थ्यो भने घरलाई भार पर्ने हो । ग्रो व्यागमा पनि तरकारी लगाउन सकिन्छ तर त्यसमा पानी जम्ने समस्या बढी आउन सक्छ ।’ उहाँ भन्नुहुन्छ, ‘टनेल बनाएपछि परेको पानी र शीतबाट जोगाएर प्राङ्गारिक तथा विषादी कम भएको तरकारी फलाउन सक्नुहुन्छ । टनेल नहुँदा वर्षाको बेला र हिउँदमा राम्रो उत्पादन लिन सकिन्न ।’
बजारको तरकारीबाट भान्छामा आउने विषादीको मात्रा घटाउने पहिलो उद्देश्यसहित कौसी बारीको अवधारणा सुरु गरिएको अभियान एग्रोले जनाएको छ ।
सानो र खेर गइरहेको कौसी वा छतबाट वर्षभरिका लागि पुग्ने तरकारी फाउन सकिन्छ भन्ने नभइ विषादी मिसिएको तरकारीको मात्रा घटाउने, प्राङ्गारिक तरकारी फलाएर खाएर स्वास्थ्यमा फाइदा पुग्ने पण्डित बताउनुहुन्छ ।
अहिलेसम्म काठमाडौंका ६७ घरमा फलामको टेन्ट फ्रेम सहितको सानो टनेल, थोपा सिंचाइ सेट जडान गरेर व्यवस्थित तरिकाले कौसी खेती भइरहेको पण्डितको भनाइ छ ।
कौसी खेती गर्न चाहनेले स्थानीय तहका कृषि प्राविधिक वा विज्ञसँग सल्लाह गरेर पनि खेती गर्न सक्छन् । तर यसको आधुनिक प्रविधि सिकेर खेती गर्न सके फाइदाजनक हुने कौसी खेती अभियानमा लाग्नुभएका पण्डित बताउनुहुन्छ ।
‘हामीले ४ फिट चौडाइ र १० फिट लम्बाइ भएको एउटा मोडल र अर्को ५ फिट चौडाइ र ६ फिट लम्बाइ भएको फलामको टेन्ट फ्रेमसहितको मोडल तयार पारेका छौँ ।’ उहाँले भन्नुभयो, ‘प्याकेज अन्तर्गत घरमैँ पुगेर जडान गरिदिन्छौँ । दुई पटकका लागि बीउ र बिरुवा दिन्छौँ । यसका साथै दुई पटक प्राविधिक सहयोग समेत गर्दा २५ देखि ३० हजारमा जडान गर्न सकिन्छ ।’
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८, १०:५६