हामी सबै अहिले कोरोना महामारीको दोस्रो लहरमा छौँ । कोरोना महामारीले गर्दा सबैको जीवन नै अस्तव्यस्त बनेको छ । सन् २०१९ को डिसेम्बर ३१ मा पहिलो पटक चीनको वुहानमा देखिएको कोरोना भाइरसबारे हालसम्म कुनै ठोस प्रमाण फेला पर्न सकेको छैन ।
यसबारे अझै पनि अध्ययन र अनुसन्धान जारी नै छ । तर, कोरोना महामारी सुरु भएदेखि नै यसले दीर्घ रोगीलाई विशेष प्रभाव पारेको र उनीहरुलाई छिटै च्याप्नसक्ने पाइएको छ ।
दीर्घ रोगीमा पनि फोक्सोका बिरामी, मुटुका बिरामी, मिर्गौलाका बिरामी लगायतलाई कोरोनाले नराम्रोसँग प्रभावित बनाउने गरेको छ ।
फोक्सो र मुटुका बिरामीमध्ये पनि जसले बढी सुर्तीजन्य पदार्थको सेवन गरिरहेका छन् वा गर्दै आएका थिए, उनीहरूलाई कोरोनाले बढी प्रभावित बनाएको उपचारमा संलग्न चिकित्सकहरूले नै बताउने गरेका छन् ।
सुर्तीजन्य पदार्थको सेवनका कारण सेवन गर्ने व्यक्ति मात्रै होइन, तिनको वरपर भएकाहरूलाई पनि नराम्रो असर पुर्याउने गर्छ ।
धुम्रपान स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि मानिसहरूले यसलाई शौखको रूपमा लिने र साथीभाइको लहलहैमा लागेर लतमा फस्ने गरेको विश्व स्वास्थ्य संगठनसहित चिकित्सकहरूले भन्ने गरेका छन् ।
विश्व स्वास्थ्य संगठन र युरोपियन युनियन हेल्थ एजेन्सीको रिपोर्टका अनुसार सुर्तीजन्य पदार्थको सेवनका कारण बर्सेनि ६० लाख मानिसहरूको अकालमै मृत्यु हुने गरेको छ । सुर्तीजन्य पदार्थको सेवन भनेको धुम्रपान हो । जसमा चुरोट, बिँडी, सिगार, हुक्का, खैनी आदि पर्छन् ।
धुम्रपानका कारण मुटुमा ब्लकेज हुनाले हृदयघात हुने, मस्तिष्कमा ब्लकेज हुनाले मस्तिष्कघात र खुट्टाको नलीहरू बन्द हुँदा खुट्टै काट्नु पर्ने अवस्था उत्पन्न हुन्छ ।
जुनसुकै तरिकाले प्रयोग गरे पनि यी स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छन् । तपाईं पनि यस्ता अम्मलको प्रयोग गर्दै हुनुहुन्छ भने तत्काल बन्द गर्नुहोस् । स्वास्थ्य सुरक्षाका लागि सबैभन्दा ठूलो र महत्वपूणर् निणर्य गर्नु भनेकै ध्रुमपान सेवन बन्द गर्नु हो ।
चुरोट, बिँडी, कँक्कड, तमाखु, सिगार आदि सल्काई मुखले तानेर नाकमुखबाट धुवाँपान गरिने प्रक्रियालाई धुमपान भनिन्छ । त्यस्तै खैनी, पान, सुर्ती वा अन्य कुनै पनि रूपमा सुर्तीजन्य पदार्थको रस, चोक्टा वा दुवै चुस्ने/निल्ने क्रियाकलापलाई सुर्तीजन्य पदार्थको सेवन भनिन्छ ।
सुर्तीजन्य पदार्थमा ४ हजारभन्दा बढी किसिमका विषाक्त रासायनिक पदार्थहरु जस्तैः हाइड्रोजन साइनाइड, सल्फरडाइअक्साइड, कार्वनमोनोअक्साइड, एमोनिया, फर्मलडिहाइडहरू ग्यासका रूपमा रहेका हुन्छन् ।
यसका साथै ४० प्रकारका क्यान्सर गराउने खालका पदार्थहरु जस्तैः आर्सेनिक, क्रोमियम, नाइट्रोसमाइन र बेन्जोपाइरिन जस्ता रासायनिक तत्वहरु हुन्छन् ।
धुमपान र सुर्तीजन्य पदार्थमा पाइने नसालु रासायनिक पदार्थ निकोटिनको कारणले सधैँ खानुपर्ने लत बस्दछ । निकोटिनको लतले मानिसलाई शारीरिक र मानसिक रूपले अशक्त पार्दछ ।
धुवाँमा भएका निकोटिन, क्याडमियम, कार्बनमनोअक्साइड जस्ता तत्वहरूले प्रजनन प्रकृयामा समेत असर गर्दछन् । सुर्तीजन्य पदार्थबाट तत्काल धेरै असर नपरे पनि यसको दीर्घकालीन असर डरलाग्दो हुन्छ । यसको सेवन गर्ने बानी सानै उमेरमा साथीहरूको सङ्गत र सामाजिक वातावरणको कुप्रभावबाट सुरु हुन्छ ।
कति मानिसले सुर्तीजन्य पदार्थको सेवन गर्छन् ?
विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार संसारभर ११ करोड मानिसले चुरोट सेवन गर्छन् । तीमध्ये प्रत्येक वर्ष ६० लाख मानिस सुर्तीजन्य पदार्थ सेवनकै कारण मर्ने गरेका छन् । मुटु र रक्तनलीसम्बन्धी रोगमध्ये २५ प्रतिशत धुम्रपानका कारण हुने गरेको छ । जसमध्ये १० प्रतिशत चुरोट सेवनले मात्र गर्छ ।
चुरोट सेवन गर्ने मानिसलाई फोक्सोको क्यान्सर हुने सम्भावना सामान्य मानिसको भन्दा महिलामा १३ गुणा र पुरुषमा २३ गुणा बढी हुन्छ । फोक्सोबाहेक रगत, घाँटी, मुख, आन्द्रा, पाठेघर, स्तन, पिसाबथैली, मृगौलाजस्ता अङ्गमा पनि क्यान्सरको खतरा बढी हुन्छ।
३० देखि ५० वर्ष उमेर भएका चुरोट सेवनकर्तालाई हृदयघातको सम्भावना चुरोट सेवन नगर्नेमाभन्दा पाँचगुणा बढी हुन्छ । अमेरिकामा पाँचमध्ये एक व्यक्तिको मृत्यु चुरोटसेवनले हुने गरेको अध्ययनहरूले देखाएका छन् । नेपालमा भने प्रत्येक वर्ष २७ हजारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थ सेवनकै कारण हुने गरेको छ ।
नसर्ने रोगको कारण मानिसको मृत्यु हुने कारणमध्ये एक धुम्रपान पनि हो । दैनिक धुम्रपान गर्ने र कहिलेकाहीँ सेवन गर्ने मानिसहरूमा हृदयरोगको समस्या बढी हुने गरेको विभिन्न अध्ययनहरूले देखाएको छ । आधुनिक जीवनशैलीसँगै बढ्दो धुम्रपानका कारण मुटुसम्बन्धी विभिन्न समस्या देखा पर्न थालेको छ ।
वर्तमान समयमा धुम्रपान गर्नु फेसन बनेको छ । विशेषगरी युवा पुस्तामा धुम्रपानको लत परेको देखिन्छ । साथीसँगीको लहलहैमा लागेर धुम्रपान गर्नेहरू पनि लाखौँको संख्यामा छन् । तर, रहर र अर्काको लहलहैमा धुम्रपान गर्नाले तपाईँको स्वास्थ्यमा मात्रै होइन तपाईँको वरपर हुने मानिसमा पनि नकारात्मक असर पारिरहेको हुन्छ ।
विशेषगरी तपाईँ र तपाईँको वरपरका मानिसको मुटुमा यसले खतरनाक प्रभाव पारिरहेको हुन्छ । चुरोट सेवन गर्नाले मुटुलाई असर पारेकै हुन्छ तर, एकदुई खिल्लीले केही असर हुँदैन भनेर सोच्नु गलत हो । चुरोटको एकदुई खिल्लीले बर्सेनि मुटु र मु्टुसम्बन्धी समस्याले सताउने गरेको पाइएको छ ।
धुम्रपानका कारण मुटुमा ब्लकेज हुनाले हृदयघात हुने, मस्तिष्कमा ब्लकेज हुनाले मस्तिष्कघात र खुट्टाको नलीहरू बन्द हुँदा खुट्टै काट्नु पर्ने अवस्था उत्पन्न हुन्छ ।
चुरोटमा हुने पदार्थहरूमध्ये सबैभन्दा खतरनाक निकोटिन हो । यसले रगतमा मिसिएर रक्त नलीको भित्तामा प्रतिक्रिया देखाउन थाल्छ र शरीरमा अक्सिजननको मात्रा कम गर्न थाल्छ ।
अर्थात् रक्त सञ्चारमा अवरोध उत्पन्न गरेर मुटुमा ब्लकेजको प्रतिक्रियालाई बढाउन थाल्छ । जसले गर्दा रक्तनली खुम्चिने र हृदयघात, मस्तिष्कघात जस्ता समस्यालाई निम्त्याउँछ ।
विशेषगरी युवा पुस्ता ४० वर्षकाहरूमा हुने हृदयघातको कारण धुम्रपान रहेको विभिन्न अध्ययनहरुले देखाएको छ । धुम्रपानकै कारणले हुने हृदयघातमा वंशाणुगत कारण पनि पाइएको छ । वंशाणुगत कारणले हुने हृदयघात विरलै हुने गरेको पाइएको छ ।
चुरोटसेवन बन्द गर्नेबित्तिकै हृदयघात र मस्तिष्कघातको सम्भावना कम हुँदै जान्छ । क्यान्सर र फोक्सोसम्बन्धी रोगको सम्भावना कम गराउँछ । अध्ययनले चुरोट छोडेको १० वर्षमा हृदयघात र मुटुसम्बन्धी रोगको सम्भावना घटेर चुरोट कहिल्यै पनि सेवन नगरेको व्यक्ति जस्तै हुने देखाएको छ ।
मुटु र दम रोगका लागि लामो समयसम्म धुम्रपान गरेको हुनुपर्छ भने हृदयघातका लागि कुनै समय हुँदैन । त्यसैगरी महिलामा पनि हृदयघातको कारण धुम्रपानलाई मानिएको छ भने रक्तचाप भएका बिरामीहरुले धुम्रपान बिलकुलै गर्नु हुँदैन ।
किनकि औषधि सेवन गरिरहेको क्रममा धुम्रपानले केही हुँदैन भनेर सोच्नु गलत हो । रक्तचाप भएका व्यक्तिले धुम्रपान सेवन गर्यो भने हृदयघात हुने सम्भावना झन बढी हुन्छ ।
हृदयघात
धुमपानले रक्तनलीको भित्री भागमा कोलेस्ट्रोल जम्मा गराउँछ । यसले रगतलाई बाक्लो बनाई जम्ने सम्भावना गराउँछ । मुटुको रक्तनली साँघुरो बनाउँछ । सुर्तीजन्य पदार्थमा अत्यधिक निकोटिन हुने हुँदा मुटुको धड्कन र रक्तचाप बढाउँछ । चुरोट सेवन गर्नेको उच्च रक्तचाप कम गर्न पनि समस्या हुन्छ ।
चुरोट सेवन गर्नेमा हृदयघातको सम्भावना दुईदेखि चारगुणा बढी हुन्छ । यी सबै कारणले रक्तसञ्चारमा बाधा पुर्याई हृदयघात गराउँछ ।
फोक्सोको क्यान्सर
चुरोट सेवन गर्ने मानिसलाई फोक्सोको क्यान्सर हुने सम्भावना सामान्य मानिसको भन्दा महिलामा १३ गुणा र पुरुषमा २३ गुणा बढी हुन्छ । फोक्सोबाहेक रगत, घाँटी, मुख, आन्द्रा, पाठेघर, स्तन, पिसाबथैली, मृगौलाजस्ता अङ्गमा पनि क्यान्सरको खतरा बढी हुन्छ ।
सुर्तीजन्य पदार्थ सेवन गर्नेमा मस्तिष्कघातको सम्भावना दुईदेखि चारगुणा बढी हुन्छ । सुर्तीजन्य पदार्थ सेवन गर्नेमा दमबाट मृत्यु हुने सम्भावना १२ देखि १३ प्रतिशत हुन्छ । महिलाले सुर्तीसेवन गरे, बाँझोपन, पटक-पटक गर्भपतन हुने, वजन कम भएको बच्चा जन्मने, बच्चाको अचानक मृत्युको सम्भावना हुन्छ ।
हड्डी कमजोर भई सामान्य ठक्करबाट पनि हड्डी भाँचिन सक्छ ।
चुरोट छोड्दाका फाइदा
चुरोटसेवन बन्द गर्नेबित्तिकै हृदयघात र मस्तिष्कघातको सम्भावना कम हुँदै जान्छ । क्यान्सर र फोक्सोसम्बन्धी रोगको सम्भावना कम गराउँछ ।
केही अध्ययनले चुरोट छोडेको १० वर्षमा हृदयघात र मुटुसम्बन्धी रोगको सम्भावना घटेर चुरोट कहिल्यै पनि सेवन नगरेको व्यक्ति जस्तै हुने देखाएको छ ।
- केही हप्तामा नै थकाइ कम भएको महसुस हुँदै जान्छ ।
- बिहान उठ्दा ताजा र राम्रो महसुस हुन्छ ।
- रक्तसञ्चारमा सुधार भएर हिँडडुलमा सजिलो महसुस हुन्छ ।
- स्वाद र सुँघ्ने क्षमतामा सुधार भइ खानामा रुचि बढ्छ ।
- शरीरबाट चुरोटको दुर्गन्ध आउँदैन र श्वासको गन्ध पनि राम्रो हुन्छ ।
- चुरोटको धुवाँले खानेलाई मात्र नभएर अरूलाई समेत हानि पुर्याउने हुँदा चुरोट बन्द गर्दा अरूको स्वास्थ्यमा पनि फाइदा पुग्छ ।
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८, १६:४३