काठमाडौँ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले ९ बुँदे मागसहित बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केशब राज पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ ।
अकोराब बागमती प्रदेशका अध्यक्ष बलराम श्रेष्ठ, उपाध्यक्ष सपना कडेँल, अकोराबका केन्द्रीय कोषध्यक्ष सरोज पौडेल लगायतले मन्त्री पाण्डेलाई भेटेर आमसञ्चार नीतिको मर्म र भावना अनुरुप हुने गरी प्रसारणसम्वन्धी नयाँ कानुनी व्यवस्था मिलाउन र सामुदायिक रेडियोको हकमा छट्टुै नीति बनाउन माग गर्नुभएको हो ।
अकोराबले आमसञ्चार नीति बनाउँदा अकोराबको प्रदेश समितिसँग आवश्यक छलफल गर्न माग गरेको छ ।
सञ्चारमाध्यमको लोकतान्त्रिकरणसम्बन्धी विश्वव्यापी मान्यता विपरित स्थानीय र प्रदेश सरकारहरूले आफैँ एफएम रेडियो सञ्चालन गर्ने व्यवस्थाको अकोराबले विरोध पनि गरेको छ ।
रेडियोबाट विज्ञापन, जनहितका सन्देश, कार्यक्रम उत्पादन र प्रसारण गर्ने सन्दर्भमा समानुपातिक विज्ञापन नीति निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
विपद्बाट आइपर्ने समस्यासँग जुध्न प्रदेश सरकारले सामुदायिक रेडियोको लागि छुट्टै विपद् ब्यवस्थापन कोषको स्थापना गर्नुपर्ने, आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्दा सामुदायिक रेडियो प्रसारक संघ प्रदेश समितिको तर्फबाट प्रतिनिधित्व सुनिश्चिता गर्न माग पनि गरिएको छ ।
जवाफमा मन्त्री पाण्डेले अकोराबका सबै मागमा सकारात्मक रहेको बताउनुभएको छ । सामुदायिक रेडियोको प्रसारण वापतको रोयल्टी छुट गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
ध्यानाकर्षणपत्रको पूर्णपाठः
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८, १०:३२