सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले कोरोना सङ्क्रमित एक जना प्रहरीको हेलिकोप्टरमार्फत उद्धार गरेको छ ।
नाम्चे प्रहरी चौकीमा कार्यरत प्रहरी हवलदार ४० वर्षीय आले थरका पुरुषको आज बिहान उद्धार गरी काठमाण्डौँ पठाइएको प्रहरी नायब उपरिक्षक (डिएसपी) कवित कटवालले जानकारी दिनुभयो ।
उहाँका अनुसार करिब ६ दिनअघि कोरोना सङ्क्रमण पुष्टि भइ आइसोलेसनमा रहेका आलेको अवस्था थप जटिल बन्दै गएपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरी प्रहरी अस्पताल महाराजगञ्ज ल्याइएको हो ।
आलेको श्वासप्रश्वासमा समस्या देखिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । जिल्लाबाट सङ्क्रमित प्रहरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको यो पहिलो पटक हो ।
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८, १०:४५