काठमाडौँ । योग गर्न आह्वान गर्दै आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निणर्यअनुसार सन् २०१५ जुन २१ देखि हरेक वर्ष अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो ।
प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पनि समर्थन गर्नुभएको थियो । युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले पनि मोदीको प्रस्तावमा समर्थन गरेका थिए ।
नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपालमा कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमणका कारण भर्चुअल तथा भौतिक दुरी कायम गर्दै दिवस मनाउने कार्यक्रम तय भएका छन् ।
नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ ।
यसअघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।
प्रकाशित मिति: सोमबार, असार ७, २०७८, ११:००