काठमाडौँ । बाराको जितपुर सीमरा उपमहानगरपालिका १६ को टाँगिया बस्तीका तिलक मोक्तान निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि पूर्वसम्भाव्यता अध्ययन भएकै वर्ष अर्थात २०५१ सालमा जन्मिनुभयो ।
उहाँलाई १० वर्षको हुँदादेखि छिट्टै बिजुली बाल्न पाइन्छ भन्ने सुनेको याद छ । १७ वर्ष बित्यो, ५ किलोमिटर उत्तरमा पर्ने निजगढ बजारको झिलिमिली हेरेर चित्त बुझाउनु परेको छ ।
घरमा ४ वर्षअघि २० वाटको सोलार राखे पनि साँझको समयमा २ घण्टा २ वटा चिम बाल्न र मोबाइल चार्ज गर्न पनि पर्याप्त नभएको उहाँको भनाइ छ ।
‘हिजो म सानो छँदा बाआमालाई सोध्ने गर्थेँ, बा हाम्रो गाउँमा लाइन बत्ति (विजुली) कहिले आउँछ भनेर । अनि बाले जवाफ दिनुहुन्थ्यो, बाबु आउँछ हाम्रो पनि पालो आउँछ ।’ मोक्तान सम्झनुहुन्छ, ‘अहिले म २७ वर्षको भएँ । मेरो एउटा छोरी र एउटा छोरा छन् । जसरी मैले बालाइृ सोधेको थिएँ, त्यसरी नै अहिले मलाई मेरी ४ वर्षको छोरीले सोध्छिन् बाबा हाम्रो गाउँघर बजार जस्तै झिलिमिली कहिले हुन्छ ? म छोरीलाई कुनै उत्तर दिन सकिरहेको छैन ।’
नेपाल विद्युत प्राधिकरणले ३ वर्षअघि यो क्षेत्रमा बिद्युत बिस्तारका लागि ९६ लाख ७ हजार रुपैयाँ लाग्ने अनुमान गरेको थियो । स्थायी संरचना निर्माण नगर्न निजगढ विमानस्थल आयोजना कार्यालयबाट पटकपटक पत्राचार भएपछि विद्युत बिस्तारको कामै अघि बढेन ।
पहिला बस्तीको समस्या समाधान गरी विमानस्थल निर्माणको काम अघि बढाउनुपर्ने वडा अध्यक्ष केदारनाथ बजगाईको तर्क छ ।
‘दिर्घकालीन खानेपानी योजना अन्तर्गत ओभरहेड ट्याङ्कीसहितको खानेपानी योजना बनाउन वडाबाट बजेट पनि छुट्याइयो । तर आयोजना कार्यालय सिमराबाट ठूला संरचना नबनाउन पत्राचार भएपछि ढलानसहितको कुनै संरचना बनाउन पाइएको छैन । विद्यालय भवन पनि ट्रस (फलामको पोल) र जस्ताको छानासहितको मात्रै छन् ।’ बजगाईँले भन्नुभयो ।
सङ्घ सरकारले टाँगिया बस्तीबासीलाई भुटानी शरणार्थीलाई भन्दा दोस्रो तहको व्यबहार गरिरहेको वडाअध्यक्ष बजगाईको आरोप छ । बस्ती स्थानान्तरण नहुँदासम्म टाँगिया बस्तीबासीले विद्युत, खानेपानी, सञ्चार, शिक्षा लगायतका सुविधा पाउनुपर्नेमा उहाँको जोड छ ।
‘सङ्घ सरकारले संरचना निर्माणका लागि अनुमति दिएको खण्डमा हामी सबै बजेटलाई काटेर वडाकै बजेटबाट भए पनि विद्युतीकरण गर्न तयार छौँ ।’ उहाँ भन्नुहुन्छ, ‘हामी आगामी वर्षको वडाको सबै बजेट विद्युतका लागि बिनियोजन गछौँ । विद्युत प्राधिकरण पनि यसमा सकारात्मक रहेकोले सरकारले हामीलाई लिखित अनुमति देओस् । अनिश्चित रहेको विमानस्थलका कारण स्थानीय विकास रोकिनु हुँदैन ।’
जुन सरकार बने पनि विमानस्थल निर्माण कार्य सकिन्छ भन्छन् तर टाँगिया बस्तीबासी ढुक्क देखिँदैनन् । निजगढ विमानस्थलमा सरकारबाटै कमजोरी भएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल पनि स्वीकार्नुहुन्छ ।
टाँगिया बस्तीमा समस्या बिजुलीको मात्र होइन, ३ किलोमिटरको दुरीमा रहेको पूर्वपश्चिम राजमार्गसँग जोडिन सडक पनि राम्रो छैन । २ वटा सामुदायिक विद्यालय छन् तर गतिला भवन छैनन् ।
३ किलोमिटर दुरीमै सफही सब स्टेशन भए पनि विमानस्थल बनाउने भनेपछि बिद्युत विस्तार हुन नसकेको टाङ्ग्या बस्ती सरोकार समितिका सचिव सुमन थोकर बताउनुहुन्छ ।
विमानस्थलभन्दा दक्षिणमा पर्ने बस्तीभन्दा ३ किलोमिटर क्षेत्रभित्रको हैसियत बिग्रिएको जमिनमा स्थानान्तरण गर्न उनीहरुको माग छ । पुनर्बासको मापदण्ड अनुसार प्रति घरधुरी २ बिगाहा ५ कट्ठाका दरले खेतीयोग्य जमिन उपलब्ध गराउनु पर्ने लगायतका ७ बुँदे माग सरकारसमक्ष राखेको सचिव थोकरले बताउनुभयो ।
‘विमानस्थलका लागि पनि विद्युत आवश्यक पर्ने हुँदा विद्युत बिस्तारको काम रोक्नु नपर्ने हो । प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले बस्ती अवलोकनपछि विद्युत बिस्तार गर्ने बताउनु भएको थियो तर पूरा भएन’ उहाँले भन्नुभयो ।
विमानस्थल बन्ने बाहनामा आधारभूत आवश्यकता पनि पूरा हुन नपाएपछि ‘समृद्ध नेपाल सुखी नेपाली’ को अवधारणाले नछोएको टाँगिया बस्तीबासीको गुनासो छ ।
‘पूर्वपश्चिम राजमार्गबाट ३ किलोमिटर दुरीमा पर्ने हाम्रो बस्तीमा अहिले पनि ग्राबेल सडक मात्रै छ । स्थानीय सरकार आएपछि खानेपानीमा अलि सुधार भए पनि चाडवाडको बेला घरमा सबै जम्मा हुँदा खानेपानीका लागि २ घण्टासम्म पालो कुर्नुपर्छ ।’ थोकरले दुख पोख्नुभयो, ‘२०६४ सालयताका सबै पर्यटन मन्त्रीले जनताको समस्या समाधान गरेरै विमानस्थल बन्छ भन्ने आश्वासन दिनु भएको छ । सबै मन्त्री यहाँ आएर यति समयभित्र विमानस्थल बनिसक्छ तपाईहरुको व्यवस्थापन हुन्छ भन्ने आश्वासन बाहेक केही पाइएको छैन ।’
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया सुरु भएको २७ वर्ष भए पनि सरकारले बजेट छुट्टाउन थालेको आर्थिक वर्ष २०७१/७२ बाट मात्रै हो । विमानस्थलमाथि हुने राजनीतिका कारण निर्माण कार्य पछाडि धकेलिँदै छ । स्थानीयका अनुसार विद्युत, सडक, पानीसँग सम्बन्धित कार्यालयलाई टाँगियाबस्तीका लागि मात्र कुनै काम नगर्नु भन्ने गरिएको छ ।
राष्ट्रिय गौरबको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा टाँग्या बस्ती छ । विमानस्थल निर्माण अनिश्चित बन्दै गर्दा यहाँ बसोबास गर्ने १४ सय ७६ घरधुरीको दैनिकी पनि कष्टकर बनेको छ ।
अहिले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयारी भइरहेकोले बस्ती स्थानान्तरण कहिलेसम्म र कसरी हुन्छ भन्न नसकिने आयोजनाका इन्जिनियर विजय यादव बताउनुहुन्छ ।
‘पूर्वतयारी अन्तर्गत चालु आर्थिक वर्षमा ५७ करोड बजेट बिनियोजन भएको थियो । अहिले मुआब्जा दिने र पूर्वपश्चिममा पर्ने पसाहा अनि बकैया नदी नियन्त्रणको काम सुरु भएको छ ।’ यादवले भन्नुभयो, ‘निर्माण क्षेत्रभित्र रहेको ऐलानी अर्थात वनको क्षेत्रभित्र रहेको बस्ती कसरी स्थानान्तरण गर्ने र कहाँ गर्ने भन्ने मन्त्रिपरिषदको निणर्य चाहिन्छ । पहिलो चरणमा हामी १९ सय हेक्टरमा काम गर्छौँ । त्यसभित्र पर्ने ५ लाख १९ हजार भन्दाबढी रुख कटान गर्न पनि मन्त्रिपरिषदको निणर्य चाहिन्छ । सरकारको निणर्य आएपछि मात्रै हामीले कार्यान्वयन गर्ने हो ।’
जुन सरकार बने पनि विमानस्थल निर्माण कार्य सकिन्छ भन्छन् तर टाँगिया बस्तीबासी ढुक्क देखिँदैनन् । निजगढ विमानस्थलमा सरकारबाटै कमजोरी भएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल पनि स्वीकार्नुहुन्छ ।
विकास साझेदारहरुको खोजी भइरहे पनि बस्ती स्थानान्तरणको मोडेल निश्चित भइनसकेको, विमानस्थल निर्माणको मोडालिटी र स्रोत सुनिश्चत भइनसकेको उहाँको भनाइ छ ।
‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा निर्माण प्रक्रिया अगाडि बढेको छ । सरकार पछि हटेको भन्न मिल्दैन । पूणर् गति दिनका लागि साधनस्रोतको कुरा आइहाल्छ ।’ उहाँले भन्नुभयो, ‘अन्तिम चरणमा पुगेका वा आधाआधी सकिएका राष्ट्रिय गौरवका आयोजना निर्माणका लागि साधन स्रोतको जोहो गर्ने क्रममा निजगढ विमानस्थल निर्माणको काम प्राथमिकतामा अलि पछाडी पर्यो भनेर बुझ्दा हुन्छ । राष्ट्रको क्षमता सीमित भएका कारण धेरै कुरामा सम्झौता गर्नु पर्ने अवस्था आयो ।’
२७ वर्षमा पनि बन्ने नबन्ने टुङ्गो नलागेको विमानस्थलसँग टाँग्याबस्तीबासीको खासै चासो र चिन्ता छैन । पुनर्बासको मापदण्ड अनुसार बस्ती स्थानान्तरणको माग गर्ने उनीहरू बिजुली, पानी, सडक, शिक्षा लगायत सुविधा पाउने आफ्नो अधिकार विमानस्थल निर्माणमा भएको गलफत्तिसँगै रोकिदिएकोमा भने दुखी छन् ।
राष्ट्रिय गौरबको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा टाँग्या बस्ती छ । विमानस्थल निर्माण अनिश्चित बन्दै गर्दा यहाँ बसोबास गर्ने १४ सय ७६ घरधुरीको दैनिकी पनि कष्टकर बनेको छ ।
यसबारेको अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: आइतबार, असार १३, २०७८, ११:२२