काठमाडौँ । कोभिड-१९ सङक्रमितको निःशुल्क उपचार अब सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै अब कोरोना सङ्क्रमितको निःशुल्क उपचार हुने बताउनुभएको हो ।
कोभिड-१९ को उपचारका लागि सेवा सम्झौता भएका मेडिकल कलेजहरुमा असार १४ गतेसम्म भर्ना भई उपचाररत सङ्क्रमितको सोही मितिले १० दिनसम्मको मात्रै सोधभर्ना उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ।
निजी अस्पताल तथा मेडिकल कलेजहरुलाई सङ्क्रमितको उपचारमा सरकारले तोकभन्दा बढी शुल्क नलिन आग्रहसमेत गरेको छ । सरकारले यसअघि विभिन्न निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग सेवा सम्झौता गरी सङ्क्रमितको निःशुल्क उपचारको व्यवस्था मिलाएको थियो ।
मन्त्रालयले महङ्गो शुल्क लिएर कोरोना सङ्क्रमितको उपचार गरेको पाइएमा कानुन अनुसारको कारबाही गर्ने चेतावनी पनि दिएको छ ।
मन्त्रालयले निकालेको विज्ञप्ति हेर्नुहोस्ः
प्रकाशित मिति: मंगलबार, असार १५, २०७८, २०:५६