गजल
सोचेजस्तो जिन्दगानी त सबैको कहाँ हुन्छ?
आफ्नै घरभित्र सुनखानी त सबैको कहाँ हुन्छ?
सडकमै सुतेर हेरेका सुन्दर हुन्छन् सपना,
मल्मलको ओछ्यान सिरानी त सबैको कहाँ हुन्छ?
अक्षर अनि सम्झनामा बाँच्ने गर्छन् कोहीकोही,
अजम्मरी यो परानी त सबैको कहाँ हुन्छ?
आऊ म जे छु मलाई यही रुपमा स्वीकार गर,
मन पर्ने सम्पूर्ण बानी त सबैको कहाँ हुन्छ?
पसिनाले लेखिएका प्राय:हुन्छन् कथाहरु,
प्रेमले लेखेको कहानी त सबैको कहाँ हुन्छ?
प्रकाशित मिति: आइतबार, असार २०, २०७८, १०:४०