काठमाडौँ । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदल ब्यूँतिएसँगै बैठक तथा छलफलहरूले तीव्रता पाएका छन् । बैठक आज पनि दिउँसो १ बजे सिहंदरबारमा बस्ने कार्यदलमा एमाले नेता माधवकुमार नेपाल पक्षबाट सहभागी नेता गोकणर् बिष्टले जानकारी दिनुभयो ।
कार्यदलको बैठक हिजो साँझ बसेको थियो र सकारात्मक भएको पनि नेता बिष्टले बताउनुभयो । एमाले विवाद चर्किँदै गएपछि कार्यदल निस्क्रिय भएको थियो ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पक्षका नेताहरूलाई काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता लिन हिजोसम्मको समयसीमा तोक्नुभएको थियो ।
तर हस्ताक्षर फिर्ता नभएपछि ओली र नेपाल पक्षबीच कार्यदलमार्फत विवाद समाधानको प्रयास गर्ने सहमति बनेको हो । कार्यदलले दुवै पक्षबाट जारी गर्ने संयुक्त वक्तव्यको मस्यौदालाई अन्तिम रुप दिने तयारी पनि गरेको छ ।
कार्यदलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक, सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ ।
नेता माधवकुमार नेपालका तर्फबाट भीम रावलको संयोजकत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकणर् विष्ट र रघुजी पन्त सदस्य रहनुभएको छ ।
प्रकाशित मिति: मंगलबार, असार २२, २०७८, १०:३४