काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ ।
नेकपा (माओवादी केन्द्र) लाई सहभागी गराउँदै मुख्यमन्त्री राउतले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
माओवादी संसदीय दलका नेता भरत साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ ।
यसअघि यो मन्त्रालयको जिम्मा पाउनुभएका जनता समाजवादी पार्टीका नेता ज्ञानेन्द्र यादवलाई राजीनामा गराएर साहलाई मन्त्रिपरिषद्मा सहभागी गराउन लागिएको हो ।
सीआईएनसँग कुराकानी गर्दै यादवले आफूले छोडेपछि साहलाई उक्त मन्त्रालयको जिम्मेवारी दिने खबर पाएको र केही बेरमा राजीनामा दिन लागेको बताउनुभयो ।
संयुक्त सरकार बनाउनुपर्छ भन्ने मान्यतालाई स्थापित गर्नका लागि आफूले राजीनामा दिन लागेको उहाँले जानकारी दिनुभयो । माओवादी केन्द्रकै तर्फबाट रुबी कणर्लाई राज्यमन्त्रीमा नियुक्त गर्ने तयारी मुख्यमन्त्री राउतको छ ।
महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित साह र सप्तरीकी समानुपातिक सांसद कणर्ले आज शपथ लिने तयारी भएको माओवादी केन्द्र संसदीय दलका सचेतक दिलीपकुमार साहले सीआईएनसँग बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, साउन २, २०७८, ०९:०१