जनकपुर । प्रश्नपत्र बाहिरिएपछि स्थगित एसईई परीक्षा आजबाट सुरु भएपनि फेरि स्थगित भएको छ ।
आज हुने भनिएको विज्ञान विषयको प्रश्नपत्र फेरि बाहिरिए पछि ४ जनालाई निलम्बन गर्दै परिक्षा स्थगित गरिएको हो । धनुषाको बरकुर्वा परीक्षा केन्द्रबाट अनिवार्य विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको बताइएको छ ।
परीक्षा सुरु भएको केही बेरमै भित्रबाट मोबाईल मार्फत प्रश्नपत्र बाहिरिएको थियो ।
परीक्षामा भित्र मोबाईल लैजान पूर्ण निषेध गरिएपनि प्रश्नपत्र भने मोबाईलबाटै बाहिरिएको प्रहरिले जनाएको छ । कुनै एक परीक्षार्थीले प्रश्नपत्र मोबाईलमा फोटो खिचेर बाहिर पठाएपछि अभिभावकहरुले परिक्षा केन्द्र बाहिर प्रश्नपत्र आउट भएको हल्ला गरेका थिए ।
प्रश्नपत्र आउट भए लगत्तै नीरिक्षण तथा अनुगमनको संयुक्त टोली उक्त परीक्षा केन्द्रमा पुगेको थियो । यसअघि पनि सप्तरीबाट बिज्ञान विषयको प्रश्नपत्र आउट भएपछि परीक्षा स्थगित भएको थियो ।
परीक्षाकेन्द्रमा मोबाइल निषेध गरिएपनि मोबाइल लिएर जाने एक जना गार्ड पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा फकिरचन्दगामी माध्यमिक विद्यालयका शिक्षक एवम् परीक्षामा गार्ड बसेका शंकर यादव रहेका छन् । यादवलाई अनुगमन टोलीले पक्राउ गरेको हो ।
निरिक्षक यादवले परीक्षार्थीको औजार बक्समा मोबाइल राखेका थिए भने उनले नै प्रश्नपत्र आउट गरेको हुनसक्ने अनुमान गर्दै उनीसँग सोधपुछ भइरहेको छ । अहिलेसम्म पनि निश्कासन भएका विद्यार्थी तथा अन्यको नाम भने सार्वजनिक गरिएको छैन ।
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५, १३:५०