सोलुखुम्बु । पहिरोका कारण सोलुखुम्बुको नाम्चे र लुक्लाबीचको आवतजावत बन्द भएको छ ।
निरन्तरको वर्षातका कारण खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ३ को टोकटोकमा पहिरो खस्दा लुक्ला र नाम्चेबीचको आवतजावत बन्द भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरी निरिक्षक एवं सूचना अधिकारी ऋषिराज ढकालका अनुसार गएराति अन्दाजी साडे १० बजे करिब ४ सय मिटर माथिबाट आएको पहिरोले मुख्य पदमार्ग अवरुद्ध बनेको हो ।
लुक्ला र नाम्चे आवतजावत गर्ने अन्य बैकल्पिक मार्गसमेत नहुँदा समस्या भएको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका प्रवक्ता ल्हाक्पा छिरि शेर्पाले बताउनुभयो ।
पहिरो हटाउन नेपाल प्रहरी र स्थानीयबासी बिहानैदेखि खटिरहेको प्रहरी निरिक्षक ढकालले बताउँनुभयो । उहाँका अनुसार पहिरोबाट भौतिक बाहेक अन्य पशुपंक्षी र मानव बस्तीेमा क्षति पुगेको छैन ।
जिल्लामा बाढी पहिरो र विपतको राहत उद्धार तथा पहिरो खुलाउने सवालमा प्रहरी रातदिन नभनी २४ घण्टा नै सक्रिय रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, साउन ४, २०७८, १३:१३