काठमाडौँ । नेपाल राष्ट्र बैँकले नोबेल कोरोना भाइरस (कोभिड-१९) प्रभावित सर्वसाधारण नागरिक, उद्योगी, व्यवसायी लगायतको समस्यालाई केन्द्रीत गरी विशेष योजना ल्याउने भएको छ ।
आर्थिक तथा वित्तीय परिसूचकहरूको अध्ययन गरी कोरोनाले प्रभावित आर्थिक क्षेत्रको पुनरोत्थानमा सहयोग पुर्याउन योजना बनाइएको र केही दिनमा ल्याइने मौद्रिक नीतिमार्फत सार्वजनिक गरिने राष्ट्र बैँकका प्रवक्ता देवकुमार ढकालले सीआईएनसँग बताउनुभयो ।
तयारी गर्दागर्दै मौद्रिक नीति पूर्व निर्धारित समयभन्दा केही ढिला हुन गएको उल्लेख गर्दै राष्ट्र बैँकले अबको केही दिनमा सार्वजनिक गर्नेगरी नीतिलाई अन्तिम रूप दिइएको जनाएको छ ।
यातायात व्यवसायी, उद्योगी लगायत सरोकारवाला निकायले आफ्ना माग र मुद्दाहरू सम्वोधन गर्नुपर्ने माग गर्दै हिजोआज मन्त्रीदेखि सम्बन्धित अधिकारीसँग भेटघाट गरिरहेका छन् ।
प्रवक्ता ढकालले सरोकारवाला मन्त्रालयसम्म पहुँच नभएका नागरिकका लागि पनि विशेष योजना ल्याइने बताउनुभयो ।
कोरोना प्रभावित उद्योग व्यवसाय क्षेत्रलाई पनि उच्च प्रभावित, मध्यम र कम प्रभावित क्षेत्रमा छुट्याएर राहत हुने गरी कार्यक्रम ल्याउने तयारी भइरहेको राष्ट्र बैँकले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन ९, २०७८, १०:०६