बैतडी । अपराधसँग जोडिएको मदिरा व्यवस्थापनका लागि सङ्घीयता कार्यान्वयनमा आएपछि बाजुरामा मदिराकार्ड बनाएर जथाभावी मदिरा सेवन हुने परिपाटीलाई व्यवस्थापनको अभ्यास पनि गरियो ।
पूर्वी नेपालमा स्थानीय मदिराको बजारीकरणको चर्चा भइरहँदा बैतडीमा भने मदिराका कारण अपराध बढेको भन्दै पूणर् प्रतिबन्ध लगाइएको छ । बैतडीको सिगास गाउँपालिकाले मदिरा नियन्त्रणको निणर्य गरेपछि स्थानियहरु खुशी भएका छन् ।
सिगास गाउँपालिका वडा नम्बर २ का स्थानीय टेकेन्द्र धामी गाउँपालिकाले मदिरा बिक्रीमा प्रतिबन्ध लगाएपछि समाजमा सद्भाव बढ्ने बताउनुहुन्छ ।
‘मदिराले बजारमा होहल्ला बढ्ने र भाइबन्धुबीचको सम्बन्ध टुट्ने समस्या थियो । सायद अब रोकिएला भन्ने आशा पलाएको छ ।’ टेकेन्द्रले थप्नुभयो ।
मदिरा सेवनबाट विकृति बढेको र अपराधिक गतिविधि नहोस् भनेर पालिकाभित्र बिक्रीमा पूर्ण रोक लगाइएको बताउनुहुन्छ गाउँपालिका उपाध्यक्ष द्रोपति चन्द ।
सिगास गाउँपालिकाका उपाध्यक्ष द्रोपती चन्द । मदिराका कारण हिंसा बढेको निष्कर्ष निकालिएको र मदिरा सेवनका कारण मानिसहरूको भीरबाट लडेर मृत्यु हुनेक्रम बढेका कारण पनि विक्रीवितरण रोक्नु परेको उहाँको भनाइ छ।
उपाध्यक्ष चन्दले भन्नुभयो,‘आमा समूह, सहकारी र बिभिन्न समूहलाई समेटेर मदिरा नियन्त्रणको अभियानल चलाएका छौँ ।’
गाउँपालिकाभित्र मदिराको कारोबार नगर्ने निणर्य गाउँसभाबाट गरिएको हो । मदिरा बेचखिनका लागी इजाजत पत्र लिएकालाई खारेज गर्न आग्रह गरिएको गाउँपालिकाका प्रबक्ता राम बहादुर धामीले जानकारी दिनुभयो ।
गाउँपालिकाले ब्यवसायीहलाई आफ्नो इजाजत पत्र सम्बन्धित वडा कार्यालयमा बुझाउन भनेको छ । मदिरा बेचबिखनमा रोक लगाएसँगै निणर्य कायान्वयनका लागि सिगास गाउँपालिकाले समिति पनि बनाएको छ ।
मदिरा सेवनमा प्रतिबन्ध लगाइएको बारेमा गाउँपालिकाले निकालेको सूचना । मदिरा बेचबिखन भएको पाइएमा ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना गर्ने गाउँपालिकाको निणर्य छ । समाजमा अपराधिक गतिविधि बढ्नुमा मदिरा पनि प्रमुख कारक रहेको प्रहरीले गर्ने अनुसन्धान र सार्वजनिक हुने घटनाले देखाउँदै आएका छन् ।
विशेष गरी तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वको समयमा घैँटो फोर्दै गाउँघरमा मदिरा नियन्त्रण अभियान चलाइएको थियो ।
१८ वर्ष उमेर पूरा नगरेका व्यक्तिलाई मदिरा उत्पादन तथा वितरण गर्न मदिरा ऐनले बन्देज लगाए पनि गाउँघर, सहर बजारमा हिजोआज त्योभन्दा कम उमेरका व्यक्ति यसको सेवनका कारण आर्थिक तथा सामाजिक रूपमा कम्जोर बन्दै गएका छन् ।
अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: आइतबार, साउन १०, २०७८, १०:०२