बुटवल । प्रदेश नम्बर ५ सरकारले निर्माण गर्ने सञ्चार नीति सामुदायिक रेडियोमैत्री बनाउन माग गर्दै सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालले ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउँदै अकोराबले सामुदायिक रेडियोसँग सहकार्य गर्न प्रदेश सरकारलाई आह्वान गरेको छ ।
अकोराबका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरीको नेतृत्वमा गएको टोलीले मूख्यमन्त्री शंकर पोखरलेललाई ज्ञापन पत्र बुझाउँदै सामुदायिक रेडियोसँग सकारात्मक समाज रुपान्तरण र सामाजिक विकासमा सहकार्य गर्न अपिल गरेको हो ।
टोलीले ज्ञापनपत्र मार्फत मूख्यमन्त्री पोखरेललाइ सञ्चार नीति निर्माण, सामुदायिक रेडियोको दिगोपना, स्थानीय र प्रदेश सरकारको रेडियो खोल्ने प्रावधान र यसले पार्न सक्ने प्रभाव लगायत विषयमा ध्यानाकर्षण गराएको छ ।
प्रदेश सरकार सञ्चार नीति निमार्णका क्रममा रहेको अवस्थामा सामुदायिक रेडियोको संरक्षण सम्वर्धन तथा विकास हुनेगरी निती बनाउन ज्ञापनपत्रमा माग गरिएको छ ।
यस्तै, सामुदायिक रेडियोको सुर्खेत राष्ट्रिय सम्मेलनले गरेको घोषणपत्र समेत प्रदेश सरकारलाई बुझाइएको छ । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले सामुदायिक रेडियोमैत्री नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यसैबीच, प्रदेश ५ सरकारले अकोराबको प्रदेश ५ को भवन बनाउन सघाउने बचन पनि दिएको छ । टोलीमा अकोराबका बरिष्ठ उपाध्यक्ष गिरी, केन्द्रीय सदस्य मिलन गाहा, अकोराब ५ नम्बर प्रदेश अध्यक्ष केपी घिमिरे, उपाध्यक्ष राजु खेरल सहित सामुदायिक रेडियोका अभियान्ताहरु रहेका थिए ।
प्रकाशित मिति: शनिबार, चैत २३, २०७५