काठमाडौँ । राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरू, सरकार, बाल अभियन्ता, धर्म गुरु लगायतका सरोकारवालाहरूबीच बालविवाह अन्त्यका लागि हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त भएको छ ।
सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्क सीआईएनले वर्ल्डभिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा आज आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले बालविवाह अन्त्यका लागि लाग्ने बताएका हुन् ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले बालविवाह अन्त्य गर्नको लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारले बालविवाह अन्त्यको लागि ‘सानै छु बढ्न देउ, बालविवाह होइन पढ्न देउ’ जस्ता नारासहित कार्यक्रम गरिरहेको उहाँले बताउनुभयो ।
स्थानीय सरकारसँग मिलेर पनि बालविवाहविरुद्धको अभियान चलाउने प्रतिबद्धता मन्त्री खड्काले जनाउनुभयो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडाले बालविवाह गर्न नपाउने स्पष्ट कानुनी व्यवस्था भएको उल्लखे गर्दै बालविवाह दण्डनीय रहेको बताउनुभयो ।
मन्त्रालय बालविवाह न्यूनीकरणको लागि प्रतिबद्ध रहेको भन्दै उहाँले स्थानीय तहबाटै यसको अग्रसरता लिइनुपर्ने धारणा राख्नुभयो ।
प्रदेश २, कणर्ाली र सुदूरपश्चिम प्रदेशमा अझै पनि धेरै नै स्थानमा बालविवाह कायमै रहेको भन्दै यसलाई अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको सचिव खतिवडाले बताउनुभयो ।
सरकारले सन् २०३० भित्रमा पूणर् रूपमा वालविवाह अन्त्य गर्ने प्रतिबद्धता गरेको तथा १५ औँ योजनाले पनि बालविवाह पूणर् रूपमा निर्मूल गर्ने भनेकाले बालविवाह अन्त्यका लागि सबैले हातेमालो गर्नुपर्ने धारणा राख्नुभयो ।
समाज कल्याण परिषद्का सदस्य नानीमाया थापाले परिषद्ले बालविवाहविरुद्ध कार्य समूह बनाएर काम गरिरहेको जानकारी गराउनुभयो ।
बालविवाहविरुद्ध काम गरिहेका संस्थाहरूका बीचमा कार्यसमूह बनाएर अभियान चलाइरहेको उहाँले बताउनुभयो ।
दिगो विकासका लक्ष्य, नीति तथा कार्यक्रमले पनि बालविवाह अन्त्यको रणनीति बनाएकाले परिषद्ले पनि सोही अनुसार काम गरिरहेको थापाले बताउनुभयो ।
वर्ल्डभिजन इन्टरनेशनल नेपालका निर्देशक अनुप रानाले वर्ल्डभिजन र सामुदायिक रेडियो प्रसारक संघबीच भएको सहकार्यले बालविवाहविरुद्धमा धेरै जनचेतना र प्रतिबद्धता सङ्कलन गर्न सफल भएको बताउनुभयो ।
राष्ट्रिय अन्तरधार्मिक सञ्जाल निरनका सचिव इसुजंग कार्कीले धर्म गुरुले बालविवाह अन्त्यका लागि महत्वपूणर् भूमिका खेल्न सक्ने धारणा राख्नुभयो ।
विशेष गरी मागी विवाह गर्नेहरूमा बालविवाहको असरहरूका बारेमा सम्झाएर धर्म गुरुहरूले रोक्न सक्ने उहाँको तर्क थियो । मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले बालविवाहसहित अन्य परम्परागत गलत अभ्यासहरू अन्त्यका लागि आयोग गम्भीर भएर लागेको बताउनुभयो ।
आआफ्नो ठाउँबाट सामाजिक अभियन्ताहरूले यसको लागि गम्भीर हुनुपर्ने भन्दै उहाँले सबै भन्दा पहिले आफू र आफ्नो परिवारबाटै बालविवाहको अन्त्य गर्नुपर्ने बताउनुभयो ।
मधेसी आयोगका अध्यक्ष विजय दत्तले अति विपन्न समुदायमा धेरै वालविवाह हुने गरेको भन्दै गरिबीको अन्त्य र शिक्षाको स्थितिमा सुधार हुँदै जाँदा बालविवाह पनि कम हुँदै जाने विचार व्यक्त गर्नुभयो ।
बालविवाह अन्त्य जनप्रतिनिधि, अभियन्ता, सरकार सबै मिलेर मात्रै सम्भव हुने बताउनुभयो । उहाँले सामुदायिक रेडियो र सीआईएनले मधेशी समुदायको तस्विर प्रस्तुत गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।
सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियोहरू बालविवाह लगायतका हानिकार परम्परागत अभ्यासहरूको अन्त्य गर्न सधै खट्ने बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८, १९:५४