काठमाडौँ । सिरहा मिर्चैयाका सन्तु श्रेष्ठको घरमा प्राय साँझको खानामा गहुँको रोटी पाक्छ । उहाँले गहुँको बोक्रा फालेर पिठो पिस्ने गर्नु भएको छ, किन कि बोक्रा फालेर पिसेको गहुँको पिठोको रोटी देख्दा राम्रो र खाँदा स्वादिलो लाग्छ ।
श्रेष्ठ भन्नुहुन्छ “बोक्रा फालेको रोटी मीठो हुन्छ, नरम हुन्छ देख्दा पनि सेतो खाँदा पनि स्वादिलो बोक्रैसहित त खस्रो हुन्छ । ” स्वादको लागि गहुँको बोक्रा फालेर पिठो बनाइन्छ । धानको खोस्टा त फालिसकेपछि पनि फलेर अनि रङ्गरोगन गरेर सेतो बनाउने गरिन्छ ।
मुसुरो, रहर, चना, मुङ लगायत गेडागुडीका दाललाई पनि आकर्षक देखाउन बोक्रा फालिन्छ । बोक्रासहितका अन्नमा पाइने पोषणका बारेमा थाहा पाएर पनि स्वादका लागि भने आकर्षक देखिने खाना नै खाने गरेको काठ्मान्डौका सानु गर्तौला बताउनुहुन्छ ।
गर्तौलाले मुसुरोको दाल बोक्रो फुस्केको नपाइने भएकाले बोक्रो फुस्काकै खाने गरेको बताउनुभयो । पोषणविद्हरु खानेकुराको बाहिरी भागमा नै बढी पौष्टिक तत्व रहने बताउँछन् । गहुँको बाहिरी भागमा भिटामिन बी पाइन्छ ।
बोक्रासहितको गहँुको पिठो, फलेका राता चामल तथा बोक्रैसहितको दाल स्वास्थ्यका लागि लाभदायी रहने पोषणविद् डाक्टर अरुणा उप्रेतीको भनाइ छ ।
बोक्रा फालिसकेपछिको गहुँलाई मसिनो गरेर पिसेर मैदा बनाइ खाँदा फाइदा नगर्ने र धानको बोक्रा झिकिसकेपछिको चामललाई जस्ताको त्यस्तै खान डा उप्रेतीको सुझाव छ ।
गहुँबाट फाइबर, पोषण, क्यालोरी लगायतका तत्व पाइन्छ । तर बोक्रा फालीसकेपछि ती पोषक तत्व रहदैन । गहुँको आटा, मकैको च्याख्ला खानु स्वास्थ्यको लागि फाइदा हुन्छ ।
बोक्रा नफालेको गेडागुडीको दाल केही समय पानीमा भिजाएर पकाएर खाँदा त्यसमा भएको पौष्टिक तत्व ५ गुणाले बढ्ने पोषणविद् डा. उप्रेतीले जानकारी दिनुभयो ।
आफूले पनि बोक्रा निकालिएको दाल कहिल्यै नकिन्ने गरेको बताउनुुहुदै उप्रेतीले बाहिरी बोक्रा ननिकालेको मासको दाल चना, बोडी खान र दाललाई कम्तिमा ६ घण्टा वा बेलुका भिजाएर बिहान खान उहाँले सुझाव दिनुभयो ।
बोक्रा निकालेर, हेर्दा आकर्षक बनाईएका खाने कुरा स्वादिलो हुने भए पनि पौष्टिक तत्वका हिसाबले फाइदाजनक नहुने पोषणविद्हरुको भनाइ छ ।
बोक्रैसहितको दाल, गेडागुडी, चामल तथा गहुँको परिकार खानु फाइदाजनक हुने उनीहरू बताउँछन् ।
बाहिरी भाग फालेका खोनकुरा हेर्दा सेता, सफा र आकर्षक देखिने भएकाले गहुँ, चामल, दाल, गेडागुडी लगायतका खानेकुराकाको बाहिरी भाग फालेर खाने चलन पछिल्लो समय बढ्दै गएको छ ।
गाउँघरदेखि सहरसम्ममा गहुँ, धान, दाल, लगायतका खाने कुरा जाँतो, घट्ट वा मिलमा पिसाउँदा बाहिरी भाग हटाएर मात्रै पिस्ने चलन बढेको छ ।
प्रकाशित मिति: शनिबार, साउन १६, २०७८, १३:१२