बरमझियाको पेडा गुणस्तरिय हुने ग्राहकहरु विश्वास छ, त्यहि विश्वासले यहाँको पेडा व्यवसाय राम्रो रहेको व्यवसायी बैजु गुप्ता बताउनुहुन्छ ।
काठमान्डौं । पूर्व पश्चिम राजमार्गमा यात्रा गर्नेहरु मध्ये सप्तरीका बरमझियाबारे नसुनेका सायदै होलान् । बरमझियाबारे बुझेकाहरुले त्यहाँ पेडा नचाख्ने कुरै भएन । पूर्व पश्चिम राजमार्गमा पर्ने सप्तरीको बरमझिया पेडाका लागि प्रसिद्ध छ । पेडा किन्नैका लागि यहाँका पसलहरुमा दैनिक सयौं यात्रु यहाँ ओर्लन्छन् ।
मिठो मानेर पेडा खान्छन् र कोसेलीका रूपमा घर लैजान्छन् ।
रमाईलो त के छ भने, यहाँका प्रत्येक पेडा पसलमा बैजनाथको नाम जोडिएको छ । कारण बरमझियामा ५० वर्षअघि बैजनाथ साहले पहिलो पटक पेडा पसल खोल्नुभएको थियो । अहिले यहाँका हरेक घरको रोजगारी पेडा व्यवसाय बनेको छ ।
सय लिटर दूधबाट बढीमा २० किलो खुवा निस्किन्छ । पेडा बनाउन दूध घोटेर बाक्लो भएपछि उपयुक्त समयमा चिनी हालिन्छ र सुकाएर राखिन्छ । बरमझियाको पेडा गुणस्तरिय हुने ग्राहकहरु विश्वास छ, त्यहि विश्वासले यहाँको पेडा व्यवसाय राम्रो रहेको व्यवसायी बैजु गुप्ता बताउनुहुन्छ ।
यहाँका सबै व्यवसायीको पेडा बनाउने तरिका परम्परागत छ । तर बैजनाथ साहका छोरा, राजकुमार साहले पेडा बनाउने आधुनिक मेसिन ल्याउनु भएको छ । आधुनिक मेसिनबाट पेडा बनाउँदा, सबै एकै आकारको हुने, सफा हुने र जनशक्ति पनि कम लाग्ने साहको अनुभव छ । सबै व्यवसायीले आफ्नो बुबा नाम जोडेर पेडा पसल संचालन गरेकोमा साह खुशी हुनुहुन्छ ।
बरमझियाको पेडा पसलमा दैनिक २५ हजार लिटर दुध खपत हुन्छ । यहाँका व्यसायीले मात्रै होईन किसानले पनि रोजगारी पाएका छन् । काम मात्रै होईन, बरमझियाबासीले पेडा व्यवसायबाटै नाम पनि कमाएका छन् ।
पेडाकै निम्ति वैरवा, बरमझिया, त्रिकोल, भारदह गाउँको दूधले नपुगेर हरेक दिन सुनसरीका कोशीटप्पु र चतरा तथा सप्तरीको फत्तेपुरदेखि दूध ओसार्ने गरिन्छ । पेडा व्यवसायले बरमझियालाई काम, दाम र नाम सबै दिएको छ ।
प्रकाशित मिति: शनिबार, चैत २३, २०७५, १५:०८