सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले सात घर बगाएको छ । गएराति आएको बाढीले मेलम्ची ११ पिपलबोटको ६ र पुरानो बजारको एक घर बगाएको स्थानीय नेत्र खडकाले जानकारी दिनुभयो ।
असार १ को बाढीले कटान गरेका घर राति बगाएको हो । मेलम्ची खोलामा आएको बाढीले शनिबारदेखि हालसम्म ६७ घर टहरा बगाएको छ ।
हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ तथा तालामाराङ र मेलम्चीमा १२ घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाढीले बाहुनेपाटी बजार र मेलम्ची-१२ मा रहेको मध्य पहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी पुल पनि जोखिममा परेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८, ०९:०३