नेपाली बजारको ५५ प्रतिशत औषधि विदेशी उद्योगले ओगटेको छ भने ४५ प्रतिशत माग नेपालको उत्पादनले धानेको छ ।
काठमाडौं । चितवनका बसन्त खनाल आवश्यक भएको औषधि नेपालमा सजिलै नपाइएकोमा असन्तुष्ट हु्नुहुन्छ । बसन्त मात्रै होइन नेपालका अधिकांश नागरिकले भनेको समयमा विशेषगरी जटिल प्रकारका रोगको औषधि बजारमा सजिलै पाउँदैनन् । औषधि त पाईन्छ तर कालोबजारी मार्फत ।
तर, औषधि उद्योगीहरु भने अबको एक वर्षमा औषधिमा आत्मनिर्भर हुन्छौं भन्छन् । एसियन फर्मास्यूटिकल्सका निर्देशक शंकर घिमिरे सरकारले आफुहरुलाई केही सहुलियत दिने हो भने ८५ प्रतिशत औषधि एक वर्ष भित्रै दिन सक्ने दाबी गर्नुुहन्छ ।
मुुलुक संघीयतामा गएसँगै औषधि उत्पादकहरुले ५ वर्षमा नेपाललाई औषधिमा आत्मनिर्भर बनाउने उद्घोष गरेका थिए । आर्थिक वर्ष २०७५/७६ को बजेटमा अत्यावश्यक औषधि उत्पादन बढाउन अभिप्रेरित गरिने पनि उल्लेख थियो । तर, त्यसअनुसारको नीति निर्माण नगरिदिँदा समस्या भएको नेपाल औषधि उत्पादक संघका महासचिव विप्लब अधिकारी बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘सरकारले विदेशीमा औषधिमा निर्भरता खोजिरहेकाले कारणले हामीलाई अझ विकास हुन अप्ठेरो परिरहेको अबस्था हो ।’ बजारको हिसाबले अघि बढ्न नेपाल सरकारले नीतिगत रुपमा नै स्वदेशमा राम्रोसँग उत्पादन भएका र आत्मभिर्नर भएका औषधिहरु विदेशबाट ल्याउन निरुत्साहित गर्नुपर्ने अधिकारीको भनाई छ ।
सरकार र औषधि उद्योगीहरुले ४ वर्ष अघि नेपाल औषधिमा आत्मनिर्भर बन्छ भनेका थिए । औषधिमा आत्मनिर्भर बन्ने नीति भए पनि कार्यान्वयमा भने समस्या देखिएको छ ।
नेपालमा हाल एलोपेथिक र आयुर्वेदिक गरेर झन्डै एक सयको हाराहारीमा औषधि उद्योगहरु सञ्चालनमा छन् । ती उद्योगको उत्पादन जोड्दा मुलुक औषधिमा ७५ प्रतिशत आत्मनिर्भर भएको दावी औषधि उत्पादक संघको छ । औषधि विज्ञ राजन बहादुर राउत आवश्यकता र माग अनुसार उद्योग र सरकारबीच समन्वय भएर औषधि उत्पादन भए आत्मनिर्भर बन्न सकिने बताउनुहुन्छ ।
नेपाली बजारको ५५ प्रतिशत औषधि विदेशी उद्योगले ओगटेको छ भने ४५ प्रतिशत माग नेपालको उत्पादनले धानेको छ । सरकारले ठोस नीति नबनाईदिँदा काम गर्न समस्या भइरहेको गुनासो गर्दै आएका औषधि उद्योगीको यो समस्या कहिलेसम्म समाधान हुन्छ ? भन्ने प्रश्नमा औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसी औषधि ऐन संसोधनको क्रममा रहेकाले केही समय लाग्ने जवाफ दिनुहुन्छ । साथै बजार अनुसार औषधिको स्वचालित मूल्य बनाउन तर्फ पनि विभागको ध्यान केन्द्रित भएको केसीको भनाई छ ।
४ वर्षपनि ७५ प्रतिशतमै आत्मनिर्भर रहेको नेपाली औषधि उद्योगले यसबीचमा खासै प्रगति गर्न सकेका छैनन् । नेपाल औषधिमा आत्मनिर्भर भयो भने नेपालीले सस्तो मूल्यमा औषधि खरिद गर्नुका साथै सजिलै पाउन सक्छन् ।
प्रकाशित मिति: बुधबार, साउन २०, २०७८, ०७:२०