काठमाडौँ । आर्थिक वर्ष ०७७/०७८ मा भूकम्पपछिको पुनर्निर्माणको काममा ९० प्रतिशतभन्दा धेरै प्रगति भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दावी गरेको छ ।
गत आर्थिक वर्षामा थप एक लाख सात हजार ३ सय ५२ लाभग्राहीले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण गरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको वार्षिक समीक्षा गोष्ठीमा प्रस्तुत तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा ३१ हजार ३ सय ५९ लाभग्राही पहिचान भए भने ४१ हजार ७ सय ३८ हजारले अनुदान सम्झौता गरेका छन् ।
४७ हजार ३८४ ले पहिलो किस्ता लिएका छन् भने ६९ हजार ०१० ले दोस्रो र ९२ हजार ५७८ ले तेस्रो किस्ता लिएका छन् ।
गत आर्थिक वर्षमा थप ५ सय ८९ वटा विद्यालय, ५३ वटा स्वास्थ्य संस्था, १ सय ३३ वटा साँस्कृतिक सम्पदा र ९ वटा सरकारी भवनहरुको पुनर्निर्माण भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो।
यसै अवधिमा पुनर्निर्माण भइरहेका सुरक्षा निकायका ९ वटा भवनहरुको पनि पुनर्निर्माण सम्पन्न भएको उहाँको भनाइ छ । योसँगै प्राधिकरणबाट पुनर्निर्माण हुने निश्चित भएका सबै २ सय १६ वटा सुरक्षा निकायका भवनहरुको पुनर्निर्माण सकिएको छ ।
कोभिड महामारीलगायतका समस्याका बाबजुद गत आर्थिक वर्षमा पुनर्निर्माणमा उल्लेखनीय वित्तीय प्रगति भएको दावी प्राधिकरणको छ ।
निजी आवासतर्फ विनियोजित जम्मा बजेट रु. २३ अर्ब ८४ करोड ८८ लाखमध्ये रु. २१ अर्ब ५६ करोड ८ लाख रुपैयाँ खर्च भएको छ जुन ९०.४१ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ ।
समग्रमा पुनर्निर्माण कार्यका लागि विनियोजित बजेट ७० अर्ब ३५ करोड ८७ लाख रुपैयाँमध्ये ७५.३० प्रतिशत अर्थात् ५२ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ ।
यस अवधिमा ४६ हजार ३०० गुनासोकर्ताले प्राधिकरणको पुनरावेदन समितिसमक्ष लाभग्राही कायम गरिदिन निवेदन दिएको पनि प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणको कार्यावधि २०७८ पुस १० गतेसम्म छ ।
प्रकाशित मिति: बुधबार, साउन २०, २०७८, ०८:०९