काठमाडौँ । रौतहट बौधीमाइ नगरपालिकाका मुन्ना बाबू जयसवाल बिग्रिएका सामान सङ्कलन गर्ने र बेच्ने गर्नुहुन्छ ।
कामकाजका क्रममा उहाँको दैनिक धेरै मानिससँग उहाँको भेट हुन्छ । तर जयसवाललले अहिलेसम्म कोरोनाविरुद्धकोे खोप लगाउन पाउनुभएको छैन । जयसवाल भन्नुहुन्छ, ‘दिनदिनै मेरो धेरै मान्छेसँग भेट हुन्छ । कोरोनाको खोप लगाउन भए सुरक्षित हुन्थेँ ।’
नेपालमा गैरसरकारी क्षेत्रमा ६ हजारभन्दा धेरै सरसफाइकर्मी रहेको सरोकारवाला सङ्गठनहरूको भनाइ छ । उनीहरूले कोरोनाविरुद्धको खोप लगाउन नपाएको र यसका लागि कसैले समन्वय नगरिदिएको गुनासो गरेका छन् ।
स्थायी तथा स्थानीय सरकारसँग करार सम्झौता गरेका अधिकांश सफाइकर्मीले भने खोप पाएको सरकारको दावी छ ।
फोहोर सङ्कलकहरू समुदाय र व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा आउने भएकाले उनीहरूलाई प्राथमितामा राखेर खोप दिनुपर्ने अनौपचारिक क्षेत्रका फोहोर संकलकका लागी काम गर्ने संस्था, विश्वका चिकित्सकहरूका कार्यक्रम व्यवस्थापक अनिता थापाले बताउनुभयो ।
विश्वका चिकित्सकहरू मार्फत करिव ४ सय निजी क्षेत्रका फोहोर सङ्कलकलाई खोप लगाइँदैछ ।
फोहोरमैला व्यवस्थापन सङ्घमा आवद्ध देशभरका २ हजार ५ सय सरसफाइकर्मी मध्ये १ हजार ६ सयले भने कोरोना विरुद्धको खोप लगाएका छन् ।
अनौपचारीक क्षेत्रका फोहोर सङ्कलक कुनै संघसंस्थामा आवद्ध नभएकै कारण उनीहरूले खोप नपाएका हुन् ।
उनीहरूलाई पनि अन्य सरसफाइकर्मीलाई सरह खोप दिनुपर्ने फोहोरमैला व्यवस्थापन संघका अध्यक्ष ध्रुव आचार्यले बताउनुभयो । सरकारले सुरुमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरसफाइकर्मी लगायतलाइ खोप दिने भनेको थियो ।
तर अहिले क्रमशः उमेर समूह अनुसार खोप वितरण भइरहेको छ । सरसफाइकर्मीको लागि अलग्गै भन्दा पनि सबैलाई खोप दिने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीले सीआईएनसँग बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, साउन २०, २०७८, ०८:३८