काठमाडौं । नेपाली सेनाका रन्जित राउत हक्कीका राष्ट्रिय खेलाडी हुनुहुन्छ । तर उहाँले ब्याट र बल नछोएको तीन महिना भन्दा बढि भयो । कोरोना भाइरसको दोस्रो लहर रोकथाम तथा नियन्त्रणको लागि निषेधाज्ञा सुरु भएपछि उहाँको अभ्यास रोकियो ।
राउत भन्नुहुन्छ ‘कोभिड नहुँदा बाह्रै महिना अभ्यासमा व्यस्त भइन्थ्यो । गुरुसँग मैदानमा गएपछि नयाँ तरिका सिकिन्थ्यो । तर अहिले असहज छ ।’ उहाँ अहिले संगठनले दिएको जिम्मेवारीमा हुनुहुन्छ ।
मैदानमा अभ्यास गर्न नपाउँदाको पीडा साट्दै राउत भन्नुहुन्छ, ‘दश दिनमात्र फिजिकल नगर्दा त्यसको प्रभाव देखिन्छ । ग्राउण्ड इमपु्रभ गर्न कम्तिमा एक डेढ महिना लाग्छ ।’
हक्कीका राउतजस्तै एथ्लेटिक्सका सन्तोषी श्रेष्ठले समुहमा अभ्यास गर्न नपाएको वर्ष दिन बितिसक्यो । अभ्यास नगरी बस्न मनले मान्दैन । उहाँ एक्लै भए पनि बिहान बेलुका दौडिनुहुन्छ । श्रेष्ठ भन्नुहुन्छ, ‘ग्रुपमा, स्टेडियममा र गुरुसँग प्रशिक्षण नपाएपनि मैले आफूले गर्नुपर्ने तयारी गरिराखेकी छु ।’
पछिल्लो समय फुटबल, क्रिकेट लगायत केही खेलको बन्द प्रशिक्षण सुरु भएको छ । अन्तराष्ट्रिय प्रतियोगिता जित्न निकै मिहेनत गर्नुपर्ने हक्की, कबड्डी, एथ्लेटिक्स जस्ता खेलका खेलाडी प्रशिक्षणका लागि प्राथमिकतामा परेका छैनन् । खेल गतिविधि कम भएपछि खेलाडी पलायन हुने जोखिम बढेको छ । परिवारका अनुसार कबड्डीका राष्ट्रिय खेलाडी रामप्रसाद थारु खेल्न नपाएपछि अहिले भारतमा हुनुहुन्छ । थारु अब दशैंका लागि मात्रै स्वदेश फर्कने परिवारको भनाइ छ ।
कोरोना कहरको डेढ वर्षलाई हेर्दा, खेल गतिविधी पूर्ण रुपमा ठप्प भने छैन । तर कुनै खेलका प्रतियोगिता भईरहँदा कुनै खेल ओझेलमा किन ? राष्ट्रिय खेलकुद परिषदका प्रवक्ता कुलबहादुर थापा भन्नुहुन्छ, ‘पछिल्लो समय हाम्रो ध्यान ओलम्पिकको तयारी मै रह्यो । अब फेरि लकडाउन भएन भने हामी दुई चार दिनमै सबै खेलको प्रशिक्षण सुरु गर्छौ ।’ हाल जापानमा ओलम्पिक प्रतियोगिता चलिरहेको छ । राम्रो तयारी बिनै जापान गएका पाँचै खेलाडीको रित्तो हात फर्किरहेका छन् । कोरोना कहरमा परेर खेल्न बिर्सिएका खेलाडीलाई सरकारले पनि बिर्सिएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २०, २०७८