सरकारमा सहभागि हुन कानुनी जटिलता देखिए सांसद नरहेकाहरु नेताहरुलाई मन्त्री बनाउने तयारी नेपाल समूहको छ । अथवा सांसद रहेका मध्यबाट जोखिम उठाउन सक्ने नेताहरु किसान श्रेष्ठ, प्रेम आले र धन बहादुर बुढा लगाएतलाई सरकारमा पठाईने छ ।
काठमाडौैं । नेकपा एमालेको माधव नेपाल समूह जसरी पनि सरकारमा जाने गरी कानुनी परामर्श गरिरहेको छ । सरकारमा सहभागिताको विषयबारे आज बस्ने केन्द्रीय कमिटीको बैठकमा समेत छलफल हुनेछ ।
केन्द्रीय कमिटी सदस्य मेटमणी चौधरीका अनुसार नेपाल समूह जस्तोसुकै परिस्थिति आए पनि सरकारमा सहभागि हुनेछ । ‘त्यसका लागि हामी कानुनी परामर्शमा छौं’ चौधरी भन्नुभयो ।
सरकारमा सहभागि हुन कानुनी जटिलता देखिए सांसद नरहेकाहरु नेताहरुलाई मन्त्री बनाउने तयारी नेपाल समूहको छ । अथवा सांसद रहेका मध्यबाट जोखिम उठाउन सक्ने नेताहरु किसान श्रेष्ठ, प्रेम आले र धन बहादुर बुढा लगाएतलाई सरकारमा पठाईने छ ।
सरकारमा नेपाल समूहबाट कम्तिमा ५ देखि बढिमा ७ जनासम्म जान सक्नेछन् ।
ओली समूहका नेताहरुले नेपाल समूहले गरेको भेला पार्टी विभाजनको औपचारिक घोषणाका लागि भएको आरोप लगाए पनि आफुहरु त्यस्तो मनस्थितिमा नरहेको चौधरीले स्पष्ट पार्नुभयो ।
बरु पार्टी एकता जोगाउन के के गर्न सकिन्छ भनेर केन्द्रीय कमिटी सदस्यहरुको सुझाब लिईनेछ । पार्टीलाई जनताको बीचमा कसरी सक्रिय बनाउने भनेर पनि छलफल गरिनेछ ।
आजको बैठकमा ७० भन्दा धेरै केन्द्रीय सदस्यहरु सहभागी हुने नेपाल समूहको दाबी छ । आफ्नो समूहसँग ९८ जना केन्द्रीय सदस्य रहे पनि विविध कारण सबै उपस्थित हुन नसक्ने नेपाल समूहका नेताहरु बताएका छन् ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले वक्तव्य जारी गरी नेपाल समूहको बैठक अनधिकृत भएको बताउनुभएको छ ।
नेपाल समूह पार्टी फुटाउने गरी अघि बढेपनि कोही पनि पार्टीको घेरा भन्दा बाहिर नजाओस् भनेर कारबाही नगरिएको तामाङले बताउनुभयो । तर सरकारमा सहभागि हुने गरी निर्णय गरे त्यो जघन्य अपराध हुने र त्यसै अनुसार कारबाही गरिने तामाङले सीआईएनसँग बताउनुभयो ।
संसद् पुनर्स्थापना र शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । राजनीतिक घटनाक्रमबारे नेतृत्वले ब्रिफिङ गर्ने र केन्द्रीय सदस्यहरुको धारणा बुझ्न बैठक बोलाइएको हो ।
प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८, ०८:५५