दार्चुला । दार्चुलाको ब्याँस घटनाको अनुसन्धानका लागि गठित छानबीन समिति हेलिकप्टरमार्फत् वेपत्ता जयसिंह धामीको घर र नेपालतिरको घटनास्थल पुगेर फर्किएको छ ।
गत घटनास्थलको भारतपट्टि स्थलगत अवलोकन-अध्ययन गरेर सदरमुकाम खलङ्गा फर्किएको छानबिन समितिको टोली हिजो घटनास्थलको नेपालतिर (राप्ला-माल) स्थलगत अध्ययनका लागि हेलिकप्टरमार्फत् दिउँसो करिब साढे १२ बजे ब्याँस प्रस्थान गरेको थियो ।
हेलिकप्टरमार्फत् गएको टोलीले नेपालतिरको घटनास्थल माल क्षेत्रको स्थलगत अध्ययन-अवलोकन गरी फर्किएको छानबीन समितिका सदस्य तथा दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताउनुभयो ।
तुइन चुँडिएर वेपत्ता भएका ब्यास गाउँपालिका वडा नम्बर २ का जयसिंह धामीको घरमा गृह मन्त्रालयको छानबिन टोली पुगेको हो ।
छानबिन टोलीले पीडित परिवारलाई भेटेर घट्नाबारे जानकारी लिएको छ । स्थानीय, प्रत्यक्षदर्शी लगायतसँग सो घटनाबारे जानकारी लिएको निमित्त प्रमुख जिल्ला अधिकारी भट्टको भनाइ छ ।
सेनाको हेलिकोप्टरमार्फत् ब्यास पुगेको टोली पीडित परिवारसँग भेटघाट र मालघाटको स्थलगत अवालेकन गरी फर्किएको हो । टोलीले घटनाका तीनै जना प्रत्यक्षदर्शीको बयान लिएको छ भने भारततिरको स्थलगत अवलोकन समेत गरिसकेको छ ।
नेपाली छानबीन समितिको टोलीले भारततिरको अध्ययन गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का अधिकारीहरुको साथमै गरेको भनेर विरोध भएको छ ।
१० दिन भित्र प्रतिवेदन दिने गरी सरकारले समिति गरेको थियो । यही साउन १९ गते जिल्ला पुगेको टोलीले प्रत्यक्षदर्शीहरुको बयान, राजनीकि दल, जनप्रतिनिधि, मानवअधिकारकर्मी तथा पत्रकारहरुसँग घटनाबारे जानकारी लिएको छ ।
साउन २० गते उक्त टोलीले जिल्लाका सरोकारवालाहरुसँग छुट्टाछुट्टै भेटघाट गरी घटनाबारे जानकारी लिएको हो ।
समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानीरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन् ।
साउन १५ गते ब्याँस गाउँपालिका वडा नम्बर २ मालघाटमा तुइन तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिँदा धामी वेपत्ता भएको प्रत्यक्षदर्शीहरूले बताउँदै आएका छन् ।
तर भारतीय पक्षले भने सो घटनामा एसएसबीको संलग्नता नभएको दावी गरेको छ । वेपत्ता धामी हालसम्म फेला परेका छैनन् । तर, उनका आफन्तहरूले भने कुशको पुतला बनाएर दाहासंस्कार गरिसकेका छन् ।
ब्याँस गाउँपालिकाले पीडित परिवारलाई किरिया खर्च बाफत २५ हजार रुपैयाँ राहत उपलब्ध गराएको छ । वडा नम्बर २ का वडा सदस्य नरेन्द्र सिंह धामी मार्फत् पीडित परिवारलाई गाउँपालिकाले तत्कालका लागि किरिया खर्च बाफत् २५ हजार रुपैयाँ सहयोग गरेको हो ।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी बिनाको टोली पीडितको घरमा
ब्यास गाउँपालिका २ मालघाटमा एसएसबीले तुईन काटिदिएका कारण जयसिह धामी महाकाली नदीमा बेपत्ता भएको भनिएको घटना छानविन गर्न दार्चुला आएको गृह मन्त्रालयको टोली वेपत्ता धामीको घरमा पुगेकोे छ ।
पीडितको घरमा पुगेको छानबीन टोलीले स्थानियहरूसँग घटनाबारे जानकारी लिएको छानबीन टोलीका सदस्य समेत रहेका दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।
सानोे हेलिकोप्टर भएकाले छानविन समिति संयोजक गृह मन्त्रालयका सह सचिव जर्नादन गौतमसहित नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा र सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ गरि चार जनामात्रै घटना स्थल पुगेका थिए ।
‘हेलिकोप्टर सानो भएकाले छानबीन समितिका चार जना मात्रै गए, वेपत्ता धामीको घर र महाकाली नदीको तुईन क्षेत्रमा टोली पुगेको जानकारी पाएको छु ।’ भट्टले भन्नुभयो ।
हेलिकोप्टरमा ठाउँ नभएर माथिबाट आएका चार जनाको टोली र चालक दलका दुईजना मात्रै ब्याँसको मालगाउँ गएका थिए । मध्यान्ह १२ बजे तिर दार्चुला सदरमुकाम खलंगाबाट घटनास्थलतर्फ गएको टोली दिउसो तीन बजेतिर फिर्ता भएको छ ।
साउन १९ गते जिल्ला सदरमुकाम खलङ्गा पुगेको गृह मन्त्रालयको छानविन टोलीले साउन २० गते प्रत्यक्षदर्शी, जनप्रतिनिधी, मानव अधिकारकर्मी तथा पत्रकारसँग घटनाबारे छलफल गरेको थियो ।
विहिबार भारतको घटनास्थल गस्कु गएको टोली शुक्रबार नेपालको घटनास्थल मालघाट गएको हो ।
प्रकाशित मिति: शनिबार, साउन २३, २०७८, ०८:५८