काठमाडौँ । सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम आज दिउँसो ४ बजे सार्वजनिक गर्ने भएको छ ।
सत्तारुढ गठबन्धनको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदनलाई बिहान बसेको शीर्षष तहका नेताहरुको बैठकले अन्तिम रुप दिएपछि आज सार्बजनिक गर्ने सहमति बनेको कार्यदलका सदस्य, जसपाका नेता महेन्द्र राय यादबले सीआईएनसँग बताउनुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तारुढ दलका शीर्ष नेताहरु, मन्त्रीहरु र कार्यदलका संयोजक काँग्रेस नेता पूर्णबहादुर खड्कासहभागी बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएको हो ।
कार्यदलले गत शुक्रबार प्रधानमन्त्री देउवालगायत शीर्ष नेतृत्वलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ ।
प्रतिवेदनमा कोभिड–१९ बाट उत्पन्न महाविपत्तिबाट मुक्ति, राष्ट्रियहितको सम्वद्र्धन, सङ्घीयताको कार्यान्वयन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, शान्ति सुरक्षाको प्रत्याभूति, सुशासन र सदाचार, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक नीति तथा कार्यक्रम, सामाजिक रुपान्तरण, तत्कालिक राहत पुनःनिर्माण तथा पुनःस्थापना, पर्यावरणीय सन्तुलन र अन्तर्राष्ट्रिय सम्बन्धलगायतलाई प्राथमिकता दिइएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २४, २०७८, १२:०७