काठमाडौँ । संयुक्त सरकारको न्यूनतम् साझा नीति तथा कार्यक्रम आज सार्वजनिक भएको छ ।
साझा नीति तथा कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,जसपाका नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव लगायतका सत्ताधारी दलका नेताहरुले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको हो ।
नीति तथा कार्यक्रममा २०७२ सालमा संविधान जारी गर्नुअघि तराई–मधेस र थरुहट क्षेत्रमा भएको आन्दोलन र क्षातिको छानविनका लागि गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने उल्लेख छ ।
२०७३ साउन २१ मा पुष्पकमल दाहाल नेतृत्व मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा आयोग गठन गरेको थियो ।
सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका छिमेकी मुलुकहरुसँगको समाधान हुन बाँकी सीमा समस्याहरु कूटनीतिक माध्यममार्फत समाधान गर्ने बताएको छ ।
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै कार्यदलका संयोजक काँग्रेस नेता पूर्णबहादुर खड्काले सीमा समस्या कूटनीतिक माध्यममार्फत समाधान गर्ने घोषणा गर्नुभएको हो ।
सरकारले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने पनि कार्यक्रममा भनिएको छ । सरकारको मुख्य प्राथमिकता कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्ने रहेको पनि कार्यदल संयोजक खड्काले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, साउन २४, २०७८, २१:४२